पशुपतिनाथको सम्पत्तिको खोइ संरक्षण ?

लोकपथ
221
Shares

काठमाडौं । पशुपतिनाथको सम्पत्तिको संरक्षण नभएको पाइएको छ ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले पशुपतिनाथको सम्पत्तिको संरक्षण नभएको उल्लेख गरेको हो ।

पशुपति क्षेत्र विकास कोष परिषद्को २०७४ मा गठन भएको छानबिन समतिको प्रतिवेदनले मालपोत तथा नापी विभाग, मन्त्रालय र गुठी संस्थानले प्रतिनिधि नपठाएकाले बाँकी ६ जनाले पेस गरेको प्रतिवेदनअनुसार मूल ढुकुटीमा रहेको सम्पत्तिको लागत यकिन गर्न नसकेको जनाएको छ ।

विसं २०१९ देखि २०७५ सम्म सुन ६३.१४४ किलोग्राम र चाँदी १ हजार ५०१.३८५ किलोग्राम मूल ढुकुटीमा दाखिला भएको तथा त्यसभन्दा अघिको विवरण पनि प्राप्त नभएको महालेखाले जनाएको छ ।

त्यसैगरी पशुपति क्षेत्रभित्र १ सय ९५ गुठीसँग सम्बन्धित मठ मन्दिरका देवी देवताका अंगमा लगाएको र ढुकुटीमा रहेको गरगहनाको विवरण गुठी संसथानसँग माग गरे पनि प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै गुठी संस्थानको २०५६ सालको प्रतिवेदनअनुसार गुठीको जग्गा ११ हजार २६१ रोपनी, पशुपति, गुहेश्वरी र अमालकोट कार्यालयको नाममा दर्ता प्रमाणित जग्गा ३ हजार ६६७ रोपनी, दर्ता प्रमाणित हुन बाँकी जग्गा २३१ रोपनी, त्रिभुवन विमानस्थल र गल्फ कोर्षले प्रयोग गरेको जगगा १ हजार १६२ रोपनीलगायतको विवरण पेस भएको छ ।

महालेखाले आफ्नो प्रतिवेदनमा पशुपतिनाथसँग सम्बन्धित पूजा, जग्गा, गुठी, खान्गी समेतका जग्गाहरूको अवस्था तथा गुठी, पूजा, जात्रासँग सम्बन्धित कार्यहरु गुठी संस्थानहरूले समेत गर्दै आएको भए पनि ती कार्यहरु एकद्वार प्रणालीका गर्नुपर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?