गाईजात्रा प्रताप मल्लको पालाभन्दा अगाडि पनि मनाइन्थ्यो तर उनको योगदान ठूलो छ: दिनेशराज पन्त (भिडियोसहित)

आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व मृतकका परिवारले आफ्ना दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऐतिहासिक पर्व हो । राजा प्रताप मल्लले पुत्रशोकमा विह्वल आफ्नी रानीलाई सान्त्वना दिन गाईजात्राको चलन सुरु गरेको ऐतिहासिक प्रमाणहरू भेटिन्छन् ।

इतिहासविद् प्राध्यापक दिनेशराज पन्त त्यसअघि पनि विभिन्न रूपमा गाईजात्रा मनाउने गरेको पाइएको बताउँछन् । तर विशेष किसिमले गाईजात्रा मनाउने प्रचलनको श्रेय भने राजा प्रताप मल्ललाई नै जाने प्राध्यापक पन्तको भनाइ छ।

प्रस्तुत छ, संशोधन मण्डलका सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख समेत रहेका पन्तसँग गाईजात्राको इतिहास, राजा प्रताप मल्ल पुख्र्यौली र सन्तती, शसनशैली, व्यक्तित्व, छिमेकी राज्यसँगको सम्वन्ध, उनको पारिवारिक अवस्थालगायतका विषयमा लोकपथका लागि रामजी बलामीले गरेको कुराकानीको सम्पादित अंश:-

गाईजात्रा राजा प्रताप मल्लले सुरु गरेको भनिन्छ, तर कतिपयले भने त्यसअघि पनि कुनै न कुनै रूपमा गाईजात्रा मनाइन्थ्यो पनि भनिन्छ । यहाँको अध्ययन अनुसन्धानले चाहिँ के भन्छ ?

मैले पनि बाल्यकालदेखि त्यही पढेको सुनेको हुँ । पुत्र शोकमा परेकी आफ्नी रानीलाई गाईजात्रा चलाएर सान्त्वना दिने काम गरेको पाइन्छ । निश्चय नै प्रताप मल्ल प्रसिद्ध राजा हुन् । उनले उपत्यकासहित वरिपरिका राजालाई आफ्नो ढंगले ठाउँ राख्न सक्ने समथ्र्य राख्ने राजा हुन् ।

तर, यसको मतलव यसअघि पनि गाईजात्रा मनाइँदैन भन्न सकिन्न । इतिहासको राम्रो खोजी नभएकाले ठ्याक्कै भन्न सकिन्न । लिच्छवीकाल र पूर्वमध्य काल, करिव ८ सय वर्षअघि पनि गाईजात्रा मनाइएको बयान पाइन्छ । तर बयान पाउनेबित्तिकै त्यो बेलादेखि मनाइने भन्न सकिन्न ।
गाईजात्रा पहिलेदेखि मनाइएको हो, प्रताप मल्लले विशिष्ट ढंगले मनाउने व्यवस्था मिलाए । यसमा उनको विशेष योगदान छ । धर्मलाई कर्मसँग जोडेर मनोरोञ्जनसँग जोड्ने पर्व हो यो ।

अहिले विभिन्न ठाउँमा विभिन्न तरिकाले गाईजात्रा मनाइन्छ, प्रताप मल्लको पालामा मनाइने गाईजात्राचाहिँ कस्तो थियो ?

हामीसँग डकुमेन्टेसन नभएकाले ठ्याक्कै भन्न सकिने अवस्था छैन । अहिले काठमाडौंमा जसरी मनाइन्छ त्यस्तै जस्तो लाग्छ । कसरी मनाइन्छ भन्ने वणर्न छैन र खोजी पनि भएको छैन । परिवर्तन काल व्यवस्थाअनुसार भइहाल्छ । यसलाई स्वभाविक मान्नु पर्छ । हाम्रो इतिहासमा प्रश्न ज्यादै धेरै छन्, उत्तर छैन ।

प्रताप मल्लको पारिवारिक पृष्ठभूमि कस्तो थियो ?

प्रताप मल्लका कमसेकम ५ देखि ६ जना रानी पक्कै छन् । छोरा १० जना भन्छन् तर ११ जना पाइए पनि आश्चर्य मान्नुपर्ने छैन । उनका दुईथरी रानी थिए ।

उनी ज्यादै प्रभावशाली राजा देखिन्छन् । उनले छोराहरूलाई वर्ष-वर्ष दिनमा राजा बनाएर शासन गराए भन्ने पनि गरिन्छ । त्यतिबेला बाबु मरेपछि जति छोरा छन् सबै जना राजा बन्ने चलन थियो । छट्टु दाजुभाइले एक/दुई जनालाई हातमा लिएर अरुलाई पन्छाउँदै जाने र अन्त्यमा सबैलाई पन्छाएर आफू मात्रै राजा बन्ने गरिन्थ्यो ।

प्रताप मल्लले कान्छी पत्नीका छोरालाई राजगद्दीमा राख्नू भनेर गएका थिए तर यो विषयमा विवाद भयो । कसैले जेठो हुँदाहुँदै कान्छोलाई राजा हुन दिनुहुन्न भने, कसैले प्रताप मल्लको इच्छानुसार हुनुपर्छ भने । तीन महिनासम्म खलबल भयो । अन्ततः राजा प्रताप मल्लको कुरा स्वीकार्य भएन ।

प्रताप मल्लको पालामा कान्तिपुरको सिमाना र छिमेकीसँगको सम्बन्ध कस्तो थियो ?

त्यतिबेला कान्तिपुरको सिमाना पश्चिममा नुवाकोटको विदुर, बट्टारसम्म थियो । त्रिशुली गोरखा राज्यमा पथ्र्यो । दक्षिणमा थापाथलीसम्म थियो ।

कुपण्डोलदेखि पाटन राज्य पर्थ्यो । पूर्वपट्टि कहिलेकाँही दुधकोशीसम्म पुगेको हुन्थ्यो, कहिले साँगासम्म पनि मान्नि छ । उनी कसैलाई नटेर्ने, कसैलाई नगन्ने, दबाएर राख्ने स्वभावका राजा थिए । प्रताप मल्ल वरिपरि छिमेकी राजाहरूलाई अठ्याउने, शास्त्र र शस्त्रमा शक्तिशाली छु भन्ने खालका राजा थिए । त्यही भएर पनि होला उनको नाम धेरै चले।

उनको पुस्ता र सन्ततीहरूका विषयमा चाहिँ यहाँको अध्ययनले के भन्छ ?

उनको पुस्ताको प्रमाणित कुरा गर्दा थितिराज मल्लसम्म जान सकिन्छ । उनको बुबा कुन भन्ने सिद्ध भएको छैन । भुपालेन्द्र मल्लका छोरा भाष्कर मल्ल भए । त्यतिबेला कोरोना जस्तै प्लेगको महामारी चल्यो ६ वर्षसम्म । त्यो बेला उनी मरे । उनको छोरा भएन । त्यसबेला जगतजय मल्ल राजा भए । महिपतेन्द्र मल्ल विसं १७४४ मा छोरीपट्टिका सन्तान भन्छन् । जगतजय मल्लका छोरा जयप्रकाश मल्ल भए । उनका ज्योतिप्रकाश मल्ल भन्ने छोरा थिए । उनको विसं १७२० मा मृत्यु भयो । विसं १७२५ मा पृथ्वीनारायण शाहले कान्तिपुर जिते ।

पुराना राजाहरू परिचय दिन नसक्ने, परिचय गर्न नचाहने, दबिएर बस्न चाहने हुँदारहेछन् । यसले गर्दा पनि पुस्ता र सन्तती थाहा पाउन गाह्रो हुन्छ । यो खोजीको विषय हो ।

अहिले मल्ल थर भएका समुदायसँग मल्लकालीन राजाहरूको सम्बन्ध छ कि छैन ?

हुन पनि सक्छ । तर, कतिपयचाहिँ नक्कली भएर जोडिन पनि खोज्छन् । तर यो इतिहासका लागि दूषित कुरा हो । यस विषयमा खोजी पुगेको छैन । यस विषयमा समय खर्च गर्ने र लगानी गरेपछि निस्किने कुरा हुन् । त्यो हुन सकेको छैन ।

पछिल्लो पुस्तामा इतिहासप्रति चासो कम हुनु, ऐतिहासिक सम्पदाहरूको संरक्षण नहुनु र खोज अनुसन्धानमा चासो नहुनुको कारण के हो जस्तो लाग्छ ? यसका लागि के-कस्तो सुझाव दिनुहुन्छ ?

इतिहास रूप बदल्ने भएकाले धेरैलाई मन पर्दैन । जीवन महँगो भइसक्यो । अरुमा गयो भने आम्दानी हुन्छ । अध्यापकहरूले विद्यार्थीलाई सच्चा कुरा पढाउँदैन । अपूणर्ताको दोष हुन्छ, अशुद्धीको दोष हुँदैन । तर अहिले अपूणर्ताको मात्रै होइन अशुद्धीको पनि दोष हुन थालेको छ । यसका लागि सञ्चार माध्यमदेखि सबैले सहयोग गर्नुपर्छ । पछिल्लो समय सञ्चार माध्यमले पनि भोलिपल्ट पर्व हुन्छ, अघिल्लो दिन राति फोन गरेर फलानो पर्वको बारेमा बताइदिनुहोस् भन्छन्, मैले बोलेँ भने टिप्न सक्ने हो कि होइन । भोलि के छाप्ने हो, भोलिपल्ट गएर नभएको पैसा तिरेर पत्रिका किन्न जानुपर्छ । सात दिनअघि भनेको भए म पढेर भनिदिन्थेँ । राम्रो हुन्थ्यो केही नभए पनि छैन रहेछ भन्ने हुन्छ । प्रश्न जत्ति पनि हुन्छन्, उत्तर हुँदैन ।

https://www.facebook.com/lokpath/posts/2959355041042127

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?