दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत

लोकपथ
532
Shares

झापा । झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् ।

राप्रपा कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाले एकलौटी र मनोमानी ढङ्गले उपमहानगरपालिका बनाउने एकल निर्णयप्रति असहमति रहेको बताए ।

राप्रपाले आज जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विगतमा कमललाई दमकमा गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान भन्दा पटक-पटक बेवास्तासमेत गरिएको तर अहिले आएर फेरि उपमहानगरपालिका बनाउने प्रस्ताव कसरी आयो ?’

यसैगरी एमालेले पनि कमललाई एकतर्फी रुपमा दमकमा समावेश गरी उपमहानगरपालिका बनाउने प्रस्तावप्रति आपत्ति जनाएको छ । नगरपालिकाले सहअस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाई समेत थाहै नदिइ गरेको निर्णयप्रति दुःख व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका गाउँ कमिटी अध्यक्ष भीमप्रसाद राई र सचिव हरि ढकालले संयुक्त विज्ञप्ति जारी गरी भनिएको छ, ‘दीर्घकालीन महत्वका विषयमा निर्णय लिन जाँदा समान र सहअस्तित्वको नीति अंगीकार गर्न आग्रह गर्दछौँ ।’

नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६ औं बैठकबाट उक्त गाउँपालिका र नगरपालिकालाई समावेश गरी उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो । त्यस निर्णयलाई थप कारवाहीका लागि नगरपालिकाले सङ्घीय मन्त्रालयमा प्रचारसमेत गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?