‘शैक्षिक माफियाबाट विद्यार्थी आन्दोलन किन्ने प्रयास भयो’

लोकपथ
1.5k
Shares

नेकपा एमाले फुटको प्रक्रियामा गइसेपछि उसको विद्यार्थी संगठन अनेरास्ववियुमा पनि आधिकारिकता र नेतृत्व विवाद चर्किएको छ । केपी शर्मा ओली खेमाको एमालेले ऐन महरलाई अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी सुम्पिएको छ भने, माधव नेपाल खेमाले सुदेश पराजुलीलाई अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । समानान्तर गतिविध गर्दै दुवै कमिटी सक्रिय छन् । यसै सन्दर्भमा लोकपथले अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

तपाईंले अनेरास्ववियुभित्रै विद्रोह गर्ने भन्दै आउनुभएको थियो र आधिकारिक अध्यक्ष नै म हुँ भन्नुहुन्थयो अन्ततः अर्कै संगठन खोल्नुपर्ने अवस्था पो आयो होइन ?

मुलभूत रूपमा अनेरास्ववियु अनेरास्ववियु नै छ अहिले पनि, विद्रोह गर्नुपर्ने अवस्था छैन । यो अनेरास्ववियु मूलतः हिजो राष्ट्रिय कार्यकर्ता भेलाबाट पुनर्गठन भएको हो । केही गम्भीर संकटहरू नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको छ । कम्युनिस्ट पार्टीभित्र यस्तो परिस्थिति निर्माण भएको छ कि, हिजो हामीले कम्युनिस्ट पार्टी टुटफुट विभाजनको इतिहास देख्दै आयौँ, आजको परिस्थितिमा हामीले आफैँले भोग्नुपर्ने स्थिति निर्माण भएको छ । अनेरास्ववियु सङ्लो छ, एकताबद्ध छ । मैले नेतृत्व गरेको अनेरास्ववियु दृढ छ भन्ने कुरा जानकारी गराउन चाहन्छु ।

भन्नाले आधिकारिक अनेरास्ववियुको अध्यक्ष तपाईं नै हुनुहुन्छ ?

राष्ट्रिय कार्यकर्ता भेला गरेर जिल्ला, सम्पूर्ण विश्वविद्यालयका प्रतिनिधि राखेर उहाँहरूको म्यान्डेडले निर्माण गरेको अनेरास्ववियु मसँगै छ । त्यो अनेरास्ववियु नै आजको आधिकारिक अनेरास्ववियु हो । यो अनेरस्ववियुमा विभाजन विभक्तता होइन, नीति निर्णयको भन्दा पनि व्यक्तिको पछि लाग्ने प्रवृत्ति देखा परेको छ । मुलभूत कार्यकर्ताको म्यान्डेड मैले नेतृत्व गरेको अनेरस्ववियुमा नै छ ।

स्पष्ट पार्दिनुस् कि आधिकारिक अध्यक्ष तपाईं नै हुनुहुन्छ ?

नविना लामा जब बिदा हुनुभयो, त्यसपछि अन्तरसंघर्ष देखा प-यो । राष्ट्रिय कार्यकर्ता भेलाले ७७ वटै जिल्ला कमिटी, विश्वविद्यालयका प्रतिनिधि गरी झण्डै २ हजार २ सय विद्यार्थी प्रतिनिधिबाट निर्माण भएको अनेरास्ववियु मसँग छ, त्यो नै आधिकारिक अनेरस्ववियु भएको म स्पष्ट पार्न चाहन्छु । कसले कसलाई टिका लगाउने भन्दा पनि राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टीको मोर्चा फाँटको प्रमुख, पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा पार्टीले निर्माण गरेका अनेरास्ववियु मसँग छ ।

माधव नेपालले एमाले समाजवादी गठनको प्रक्रिया थाल्नुभएपछि त तपाईंलाई पनि माधव नेपालको पार्टीको नयाँ भातृ संगठन खोल्नुपर्नेछ होइन ?

फेरि पनि भन्छु अनेरास्ववियु मसँग छ । यसले जनाताको बहुदलीय जनवाद नै बोक्छ आजको मितिसम्म । राष्ट्रिय कार्यकर्ता भेलाको म्यान्डेड, पार्टीको आधिकारिक घोषणा मसँग भएको अनेरास्ववियु हो । नेताहरूबीचमा छिन्नभिन्न, टुटफुट र विभाजनको स्थिति आएको छ । संगठनको मूल उद्देश्य, मुलभूत मान्यता मैले नेतृत्व गरेको अनेरास्ववियुमै छ ।

मूल पार्टी ओलीसँग छ र उहाँहरूको अर्को अनेरास्ववियु छ, तपाईंले आधिकारिक अनेरस्ववियु मसँग छ भन्नुहुन्छ कसरी मिल्छ कुरा ?
अनेरास्ववियु विचारमा सामीप्यता कायम गर्ने हो, संगठनको रूपमा स्वतन्त्रता हामीले कायम गर्ने हो । यो संगठन हामीसँग छ । यसले गर्ने निर्णय नै आधिकारिक हो । केन्द्रीय कमिटीले जे निर्णय गर्छ त्यो नै आधिकारिक निर्णय हुन्छ । अबको बृहत् कार्यकर्ता भेलाबाट आउने निर्णय नै आधिकारिक निर्णय हुनेछ । हामी नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भएको हेर्न चाहँदैनौँ । हामी एकताबद्ध कम्युनिस्ट आन्दोलन हेर्न चाहन्छौँ । अझै पनि एकताबद्ध एमाले हेर्न चाहन्छौँ । नेताहरूले आत्मालोचित हुँदै सांगठानिक विधि छ त्यसलाई स्वीकार गरेर अघि बढ्न सकून् भन्ने म चाहन्छु । म कसैलाई पनि दोष दिन चाहन्नँ । नेताहरूको गल्ती कमजोरीले पार्टी यो अवस्थामा पुगेको छ । नेताहरू अझै पनि सुध्रिनुहोस्, एकताबद्ध हुनुहोस् । एकताबद्ध एमाले नै आजको आवश्यकाता हो । माधव नेपाल र केपी ओलीले कुरा गरेर अझै कम्युनिस्ट पार्टी एकताबद्ध बनाउनुपर्छ । हाम्रो भूमिका त्यसमै रहन्छ । विभाजन नै हुने हो भने केन्द्रीय कमिटीले जे निर्णय गर्छ त्यही नै आधिकारिक निर्णय हुन्छ ।

तपाईं माधव नेपालसँग नजिक हुनुहुन्छ, उहाँ सही लाग्छ ?

माधव नेपालले जुन एजेण्डा बोक्नुभयो त्यो एमालेलाई पुनर्गठन गर्ने कुरा गर्नुभयो । उहाँले ठीक विचार बोकेर अघि बढ्नुभएको छ । संसद् बचाउने कुरा, लोकतान्त्रिक गणतन्त्रलाई जीवित राख्ने कुरा, संविधानको मर्म जोगाउने कुुरा सही हो ।

अब तपाईं ओलीको पक्षमा लाग्नुहुन्छ कि माधव नेपालको पक्षमा ?

पहिला हामी केन्द्रीय कमिटीको बैठक राख्छौँ, बैठकले जे निर्णय गर्छ त्यहीअनुसार अघि बढ्छौँ ।

ऐन महरको नेतृत्वमा अर्को अनेरास्ववियु पनि छ, समानान्तर गतिविधि हेर्दा त तपाईंहरूको फुटको तयारी त राम्रै देखिन्छ नि ?
ऐनजीले गरिरहनुभएको गतिविधि फुटको गतिविधि हो । हिजोदेखि नै उहाँले एक प्रवृत्तिलाई बोकेर हिँड्नुभयो । हामीले बोकेको मान्यताले समग्र कम्युनिस्ट पार्टीले बोक्ने मान्यता हिँडेका छ । उहाँको जस्तो नेताको आर्शीवादले म अध्यक्ष भएको होइन । म राष्ट्रिय कार्यकर्ता भेलाबाट अध्यक्ष भएको हुँ । पार्टीको आधिकारिक अध्यक्ष म नै हुँ, टीका लगाएको अध्यक्ष होइन । म साथीहरूलाई पनि भन्न चाहन्छु फुटले कसैलाई पनि फाइदा गर्दैन ।

अखिल फोर्स पनि गठन गर्नुभएको छ, अब कसरी अघि बढ्नुहुन्छ ?

हो, मैले नै अखिल फोर्स गठन गरेको हुँ । अनेरास्ववियुले बोकेको उद्देश्यलाई महत्वपूर्ण ढंगबाट हाम्रो समुदायलाई जोड्न चाहन्छौँ । नेपालको बामपन्थी आन्दोलनलाई जोड्न र एकताबद्ध गर्न चाहन्छौँ । जसले देशभक्त र जनवादी विचार बोक्दछ त्यो विचारमा आबद्धता कायम गरेर अगाडि बढ्न चाहन्छौँ । अखिल फोर्सलगायतका अनेरस्ववियु माताहतमा रहेको कमिटीलाई सक्रिय बनाउँछौँ ।
माउपार्टीलाई खबरदारी गर्नेभन्दा गुटलाई प्रोत्सहान दिने नीति त तपाईंमा पनि देखियो नि होइन ?

त्यस्तो छैन, सहीलाई सही र गलतलाई गलत भन्ने हो । अध्यादेश हिजो जुन ढंगले आएको थियो त्यसको विरोधमा हामी थियौँ आज आएको अध्यादेशको विरोधमा पनि म छु । नेपालको संविधान र ६२/६३ सालको जनक्रान्तिले दिएको म्यान्डेडलाई संस्थागत गर्नुको साटो दलहरू विभाजन गर्न उद्यत भएका यस्ता अध्यादेशको विरुद्धमा अहिले पनि म छु, भोलि पनि रहेनछु । हिजो केपी ओलीले ल्याएको अध्यादेश पनि गलत थियो, शेरबहादुर देउवाले ल्याएको अध्यादेश पनि गलत छ । हिजो विधि र पद्धति मिचेर पार्टी चलाउने प्रवृत्ति थियो यी सबै प्रवृत्तिको विरुद्धमा हामी छौँ ।

अबको विद्यार्थी आन्दोलन कता जाला, त्यहाँ तपाईंहरूको स्थान कहाँ रहन्छ ?

विद्यार्थी आन्दोलन मूलभूत रूपमा सत्ताको स्थायी प्रतिपक्षीय भूमिका हो । शेरबहादुर देउवाले राम्रो काम गर्नुहुन्छ भने हामी समर्थन गर्छौैँ नराम्रो कामको विरोध गर्छौँ । सत्ताको स्थायी प्रतिपक्ष भइसकेपछि प्रतिपक्षी आन्दोलनलाई अघि बढाउने हो । दबाब र जाँगरको भूमिकालाई अघि बढाउने हो । समुदायको अधिकारलाई स्थापित गर्ने हो । ६२/६३ पछाडि धेरै सरकार परिवर्तन भए । तर, नेपालको शिक्षा र स्वासथ्य प्रणाली र रोजगारको स्थिति दयनीय छ । गरिबका छोराछारीले पढ्न नपाउने धनिका छोरोछोरीले पढ्न पाउने दुई किसिमको शिक्षा प्रणाली छ यसलाई तोड्नको निम्ति अहिलेसम्मका सरकारले प्रभावकारी काम गर्न सकेका छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रका माफिया र कालोधनलाई सेतोधन बनाइरहेका मान्छेहरूलाई नै राज्यको तर्फबाट प्रोत्साहान गर्ने, मन्त्री बनाउने, नियुक्ति दिने कदम पार्टीहरूको छ त्यसको भण्डाफोर गर्ने अभियान अनेरास्ववियुको रहनेछ । हाम्रो आन्दोलन हिजोको भन्दा टड्कारो छ । पार्टीभित्रको गलत प्रवृत्ति छ त्यसविरुद्ध लड्नु छ । हिजो राजाको विरोध ग-यौँ, पञ्चायतविरुद्ध लडाइ लड्यौँ । पार्टी पद्धति तहसनहस बन्ने स्थिति बन्यो । संविधान तहसनहस हुने अवस्था बन्यो । यी सबैलाई अन्त्य नगरेसम्म हाम्रो विद्यार्थी आन्दोलनको मूल उद्देश्यहरू पूरा हुने अवस्था रहँदैन । सबै विद्यार्थी संगठनलाई गोलबन्द गरेर अनेरास्ववियु यसको नेतृत्व गर्छ ।

विद्यार्थीको हकहितभन्दा बाहिर रहेर काम गर्नुहुन्छ भन्ने आरोप लाग्छ तपाईंहरूलाई वास्तविकतासँग पनि मेल खान्छ नि ?

कसले भन्छ थाहा छैन मलाई, जसले भन्छ उसलाई नै सोध्नुपर्छ जस्तो लाग्छ । गलत प्रवृत्ति र कदमका विद्यार्थी आन्दोलनलाई देखाएर आफ्नो दुनो सोझ्याउनेहरूको विरुद्धमा पनि अनेरास्ववियु लाग्नुपर्छ । शिक्षामा लगानी गरेका माफियाहरू छन् उनीहरूले विद्यार्थी आन्दोलन किन्ने कोसिस पनि गरेका छन् । त्यसको विरुद्ध उठ्नुपर्छ, जाग्नुपर्छ, खबरदारी गर्नुपर्छ । त्यस्ता साथीहरू छन् भने पर्दाफास गर्नुपर्छ । विद्यार्थी आन्दोलनलाई कमजोर बनाउनको निम्ति निजी संस्था र कलेजसँग अपारदर्शी ढंगले हिमचिम गर्नेका विरुद्धमा पनि अबको आन्दोलन अगाडि बढ्छ ।

तपाईंहरूको भावी योजना के छ ?

अब राजनीतिलाई सही बाटोमा ल्याउनुपर्छ, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ । हाम्रो समुदायको अधिकारलाई स्थापित गर्नका निम्ति गतिलो आन्दोलनको खाँचो त त्यसको तयारी गर्नुप¥यो । हामीले बोकेको एजेण्डा छ । सर्वसुलभ शिक्षा नपाउने स्थिति छ, यसका विरुद्धमा हामी अगाडि बढ्छौँ । शिक्षा, स्वास्थ्य र रोजगार हाम्रा मौलिक अधिकार हुन् । यसको कार्यान्वयनका निम्ति शीर्ष नेताहरूलाई एक ठाउँमा उभ्याउँछौँ भनेर हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ, सबैका सामु त्यो पनि हामी छिटै नै गर्नेछौँ ।

तपाईंहरूलाई ‘लालगद्दार’को आरोप लाग्छ र तपाईंको संगठन त्यसकै पछि लाग्यो रे नि ?

तपाईंलाई एउटा कुरा भनौँ ? कसैले समीक्षाबिना इतिहास, सिद्धान्त नपढी बोल्छ भने उनीहरूलाई नै लाज हुनुपर्नै हो । फूलको आँखामा फूलै संसार भनेजस्तै जसले राम्रो विचार बोकेको छ, समाजलाई गतिशील बनाइरहेको छ, परिवर्तनको झण्डा बोकिरहेको छ, पार्टी सरकारमा हुँदा पनि सडकमा उभिएर गल्तीका विरुद्ध आँखामा आँखा जुधाएर विरुद्धमा छौँ भन्नेलाई त्यस्तो आरोप पानीको फोकाजस्तै हो, कर्कलका पानीजस्तै हो । दुई/चार दिनको रमिताबाहेक अरु केही पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?