लागुऔषध दुर्व्यसनको दलदलमा फस्दै युवापुस्ता : अभिभावकलाई हेक्का छैन

के तपाईंका बालबालिका र युवा उमेरका छोराछोरीको खानपान, आहारव्यहार, व्यवहार, साथीसंगतको बारेमा कहिल्यै हेक्का राख्नुभएको छ ? कि ह्या होस् बिग्रिए यसैले दुःख पाउँछ भनेर हकारेर छोड्ने गर्नुभएको छ ? यसो हो भने होसियार !

पछिल्लो एक अध्ययनले बालबालिका लागुऔषध दलदलमा फस्दै गएको देखाएको छ । प्रयोगले व्यक्ति, समाज, राष्ट्र मात्र होइन विश्वव्यापी रूपमा नै असर गर्नेगरेको छ ।

किन युवाले खोजी गरे लागुऔषधको ?
शरीर र मस्तिष्कलाई नै लट्ठ बनाउने नशालु पदार्थलाई लागुऔषध भनिन्छ । विषेशगरी युवापुस्ताहरू लागुऔषधमा बढी मात्रामा संलग्न हुनेगरेको पाइएको छ । असंख्य युवापुस्ता लागुपदार्थको कुलतमा यसरी डुबेका छन् कि उनीहरू चाहेर पनि त्यो दलदलबाट बाहिर आउन सकेका छैनन् ।

गाँजा, भाङ, चरेस, कोकिन, हेरोइन भाङ्जपन, भेथाडोन आदि मुख्य लागुपदार्थहरू हुन् । सबैले बुझ्ने भाषामा भन्नुपर्दा लागुपदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ्यकर्र्मीको सल्लाह वा परामर्शबिना आफूखुसी औषधि प्रयोग गर्ने प्रवृत्ति नै हो । कुनै व्यक्तिलाई सधैँभरि लागुऔषधको सेवन गरिरहनुपर्ने अवस्थाको सिर्जना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आउनु नै दुर्व्यसनमा फस्नु हो ।

लागुपदार्थको सेवनले व्यक्तिको जीवनलाई बर्बाद गर्ने मात्र नभई त्यस्तो व्यक्तिको परिवार, छिमेकी तथा समाजलाई नै तनावमा राखी समाज प्रदूषित गर्ने कार्य गर्दछ । लागुऔषधको कुलतमा फस्ने व्यक्तिहरूको कारणले समाजमा विभिन्न प्रकारका विकृति तथा अपराधको संख्यामा समेत वृद्धि हुने गर्दछ । यी कारणहरूले धेरैजसो लागुपदार्थ दुर्व्यसनमा पर्ने गर्दछन् :
-पारिवारिक वातावरण
-बेरोजगारी
-अज्ञानता
-देखासिकी वा नक्कल गर्ने प्रवृत्ति
-पारिवारिक तनाव
-उत्सुकता
-कुनै काममा असफल भई फ्रस्टेसन हुनु
-आमाबाबु र शिक्षकको नियमित निगरानीमा कमी हुँदा पनि यस्ता समस्या देखिन्छ ।

लागुऔषध दुर्व्यसनबाट देखा पर्ने लक्षण तथा असरहरू : 
-अत्याधिक निन्द्रा लाग्नु
-स्मरणशक्ति सुस्त हुनु
-भ्रम सिर्जना हुनु
-शरीर दुब्लाउँदै जानु
-दिमागी हालत बिग्रँदै जानु
-मुटुको धड्कन बढ्नु
-एकान्त स्थान मन पराउनु
-आँखा पहेँलो र ओठ कालो हुँदै जानु
-हृदयघात हुनु /स्ट्रोक आईरहनु
-उच्च रक्तचापको सिकार हुनु
– लामो समयसम्म खोकी लागिरहनु
-पाचन प्रक्रियामा समस्या आउनु
-महिला लागुऔषध प्रयोगकर्ताबाट जन्मेको बच्चाको तौल कम हुनु तथा बच्चामा समेत त्यसको असर देखिनु
-लागुऔषध सेवनको कुलतमा फसेपछि सेवन गर्न नपाउँदा जस्तोसुकै घटना घटाउन पछि नपर्ने
-प्राणघातक रोगहरूको संक्रमण

यस्ता दुर्व्यसनको दलदलबाट बच्ने उपायहरू : 
-अरुको देखासिकी नगर्ने
-लागुपदार्थ दुव्र्यसनसम्बन्धी सन्देशमूलक कार्यक्रमहरू आयोजना गर्ने
-कसैले जबरजस्ती सिकाउन खोजेमा नाइँ भन्ने
-घर परिवारले आफ्नो सन्तान के गर्दै छ, साथीसंगत कस्तो छ निगरानी राख्ने
-अनावश्यक पिरचिन्ता भए परिवार अथवा साथीभाइसँग बसेर छलफल गर्ने
-सकेसम्म व्यस्त रहन खोज्ने
-बालबालिकालाई अनुशासन र नैतिक शिक्षा दिने

गर्भवती महिलाले लागुपदार्थ सेवन गर्दा के हुन्छ ?
चिकित्सकहरूका अनुसार गर्भवती महिलाले धेरै लागुपदार्थ सेवन गरेमा प्लासेन्टाको माध्यमबाट भ्रुणमा असर गर्छ । यदि गर्भवती महिलाले लागुपदार्थ सेवन गर्छिन् भने उनीबाट जन्मेको बच्चामा पनि लागुपदार्थको दुव्र्यसनी हुन्छ ।

मादकपदार्थको प्रयोगले गर्दा धेरै कम जन्म वजन र शारीरिक हानिका साथै विकास र बौद्धिक समस्याहरू हुनसक्छ । लागुपदार्थको प्रयोगले बच्चा अपाङ्ग हुनसक्छ र गर्भपतन हुनुका साथै समय नपुगी बच्चा जन्मिने खतरा पनि हुन सक्ने चिकित्सक बताउँछन् ।

जीवनसँग हरेस खाएर, मानसिक तनाव भएर वा डर र त्रास मेटाउने बहानाले लागुपदार्थको लतमा लाग्ने युवाहरूले भविष्यमा नराम्रो विकृति ल्याउने गरेका छन् । त्यसैले सकारात्मक सोचको विकास गर्नु नै यसको मुख्य औषधि मानिन्छ । दुव्र्यसन विश्वव्यापी समस्या रूपमा रहेको छ, जहाँ यसले जरा गाडेको छ त्यहाँ अशान्तिले घेरा हालेको छ ।

गलत संस्कारले गलत संस्कृतिलाई जन्माउँछ र गलत संस्कृतिले हाम्रो गौरव र शानलाई मृत्युतुल्य बनाएर राष्ट्रलाई नै खोक्रो बनाउँछ । अब युवा पुस्ताले आँट गरे मात्र लागुपदार्थ दुव्र्यसनको मात्रा घटाउन सकिन्छ । युवाशक्ति नै त्यो शक्ति हो जसले सकारात्मक सहयोगी र सिर्जनशील भूमिकाका माध्यमबाट लागुपदार्थ दुव्र्यसनको न्यूनीकरण गर्न सक्छन् । त्यसैले बालबालिकाको लागि अभिभावक ढाडस बन्नुपर्छ भने युवाहरू स्वयम् पनि आफू परिवार र राष्ट्रप्रति उत्तरदायी बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?