ब्रिटिस गोर्खाहरुको आमरण अनशन : न बेलायत, न त नेपाल सरकार सुन्छ समस्या !

लोकपथ
147
Shares

काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन गर्ने व्यक्तिहरूको जीवनरक्षाको लागि प्रदर्शन गरेको छ ।

बेलायतमा रहेका भूतपूर्व ब्रिटिस गोर्खाले आफूहरूलाई समान कामको तलव, भत्ता तथा सेवा सुविधामा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखी आन्दोलन गरिरहेको छ ।

१४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालयअगाडि आमरण अनशनमा बसेको भए पनि बेलायत सरकार र नेपाल सरकारले माग पूरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबि घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताए । आफूहरू समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भए पनि नेपाल सरकार यस विषयमा नबोलेको उनले बताए ।

आमरण अनशनरत व्यक्तिहरूको जीवन खतरामा रहेकोले उनले जीवन रक्षाको माग पनि गरे । उनले भने, ‘आज हामीलाई बेलायतले शोषण गरिरहेको छ । हामीलाई तलव, भत्ता, सुविधा, पेन्सन इत्यादी शोषण गरिरहेको छ । यसको खिलापमा हामीले ३२ वर्ष लामो आन्दोलन ग-यौँ । तर नेपाल सरकारले हाम्रो कुरा कहिले पनि सुनेन । आमरण अनशन गरेको आज १४ दिन भयो । आजसम्म पनि यो सरकार बोलेन । हाम्रो साथीहरूको ज्यान जोखिममा छ । यो निकम्मा सरकारको धेरै चालबाजी भएको छ, त्यसैले सडकमा उत्रिन बाध्य छौँ ।’

मानव अधिकारको विपरीत गोर्खा ब्रिटिस आर्मीहरूलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने आफूहरूको माग रहेको विमला तिम्खेवाले बताइन् । उनले भनिन्, ‘समान कामको समान अवसर, समान ज्याला र समानता भन्ने मानव अधिकारको विपरीत गोर्खा ब्रिटिस आर्मीहरूमाथि भएको विभेद डरलाग्दो छ । अन्यायपूर्ण छ । त्यसको विरुद्धमा समानताको लडाइँ लड्दै छौँ, न्यायोचित तरिकाले यो असमानतालाई समाप्त गर्नुप-यो ।’

उनले नेपाल सरकार र बेलायत सरकारले माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?