छैन रोजगारी, युवाहरूको बढ्दो विदेश पलायनले उब्जाएको अनुत्तरित प्रश्न

लोकपथ
130
Shares

बेरोजगारी यस्तो समस्या हो, जसले शारीरिक मात्र हैन मानसिक समस्या समेत सिर्जना गर्छ । सोच्नुहोस् त नेपालमा बेरोजगारको परिभाषामा पर्ने कति युवाहरू होलान् ? कुनै काममा संलग्न नभएको वा केही पनि नगर्ने युवा जमात यतिबेला कोरोना कहरका कारण अध्ययनमा समेत राम्ररी ध्यान दिन सकिरहेका छैनन् । काम गर्नै नचाहेर बस्ने एकाध मानिसहरूबाहेक काम गर्न इच्छा र योग्यता हुँदाहुँदै पनि कुनै उपयुक्त अवसर र रोजगारी नपाएर बाध्यतावश भौतारिइरहेकाको संख्या ठूलो छ ।

नेपालमा बेरोजगारीका समस्या भएको कारणले नै गर्दा लाखौँ होनहार युवायुवती विदेश पलायन भइरहेका छन् । बौद्धिक जमात यसरी विदेश पलाइन भइरहँदा सरकार मौनता साँधिरहेको छ । तर बेरोजगारीको समस्याले निम्त्याएको यी घटनाक्रमबाट धेरै खालका सामाजिक प्रश्नहरू जन्मिएका छन् ।

सबैभन्दा धेरै भारतमा

नेपालबाट सबैभन्दा धेरै युवा कामदारको रूपमा भारत गएका छन् । नेपाल र भारतको दक्षिणी खुला सिमाना र ऐतिहासिक सम्बन्धका कारण दुवै देशका नागरिक खुला आवतजावत मात्र होइन, रोजगारी गर्ने अवसर पनि भएकाले भारतमा ठूलो संख्यामा रोजीरोटीको लागि युवाहरू पुगेका छन् ।

रहर हैन बाध्यता

नेपालमा अझै पनि यस्ता क्षेत्र छन्, जहाँ श्रमिकले काम गरेबापत न्यूनतम पारिश्रमिक पनि पाइरहेका छैनन् । त्यसमाथि उनीहरू रोजगारदाताबाट शोषित र पीडित छन् । श्रमिकको काम गर्ने समयावधि, पारिश्रमिक, सामाजिक सुरक्षा, सुविधा, भत्ता आदिका कुरा अझै पनि श्रम ऐनले तोकेबमोजिम हुन सकेको छैन । दिनरात मिहिनेत गरे पनि दुई छाक टार्न धौधौ हुने स्थितिमा छन् अधिकांश मजदुर । रोजगारदाताबाट मजदुर दिनहुँ पीडित र व्यवसायजन्य सुरक्षाको अभावमा जोखिममा रहेर काम गर्न बाध्य छन् ।

नेतृत्वले नबुझेको दुःख

व्यक्तिको योग्यताअनुसारको एउटा सपना हुन्छ जागीर खोज्ने र आफ्नो परिवार तथा आफ्नै लागि आरमदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ । यो लगभग सबै व्यक्तिको साझा सपना हो । तर, सबै नेपाली युवाले आफ्नो सपनाको जागीर वा आफ्नो मातृभूमिमा राम्रो तलब भएको जागीर पाउँदैनन् । त्यसकारण लाखौ युवा आफुनो देश छोड्न बाध्य भएर विदेश पलाइन हुनेगरेका हुन् । विशेषगरी नेपालको सहरी क्षेत्रहरूमा उच्च शिक्षामा पहुँच र सहभागिता द्रूत गतिमा बढेको छ । जसले शिक्षित युवाहरूले उत्पादनशील रोजगारी हासिल गर्न वा सिर्जना गर्न सक्दछन् जुन उनिहरूका लागि अर्थपूर्ण छ र देशको विकासमा अस्पष्ट र अनिश्चित छ । भेटिएका प्राइभेट रोजगारीहरूमा पनि नातावाद र कृपावादले गर्दा राम्रा युवाहर पुग्न पाएका छैनन् ।
जहाँ सीपहरू छन् त्यहाँ रोजगारहरू उपलब्ध छन् ।

तर रोजगारदाताहरूले आवश्यक सीपहरू उच्च शिक्षामार्फत हासिल गरेको भन्दा फरक तरिकाले प्रयोग गरिरहेका छन् । यसले गर्दा पढेलेखेका युवाहरू बाहिरिन बाध्य छन् ।

सरकारले जतिसुकै सकारात्मक आश्वासन देखाए पनि देशमा भोकमरी अहिलेसम्म हटेको छैन र कहिलेसम्म अन्त्य नहुने हो, त्यो पनि कसैलाई थाहा छैन । सरकारले राहतका पोका ल्याएर एक दिन बाँडे पनि केही समय नबित्दै फेरि त्यही भोकमरीकै अवस्था सिर्जना भइहाल्छ । यस्तो गर्नुको सट्टा दिगो व्यवसाय र रोजगारको कार्यक्रम ल्याउनु जरुरी छ ।

कोरोना महामारीपछि हजारौ बेरोजगार युवाहरू मानसिक रूपमा स्थिर स्थितिमा छैन र उनीहरू कमजोर आर्थिक अवस्थासँग निरन्तर संघर्ष गर्दै छन् । कति युवाहरू जसोतसो दुःख गरी सञ्चालनमा ल्याएको व्यवसाय छोटो समयमा नै बन्द गर्नुबाहेक केही विकल्प रहेको छैन ।

यी यावत् समस्याहरूले गर्दा लाखौँ नेपालीको गरी खाने बाटो टुटेको छ ।
भनिन्छ, भए जति युवा सबै विदेश पलायन अनि नेपाल कसले विकास गर्छ तर नेपालमा मिहिनेत नै गरे पनि मिहिनेतअनुसारकोे फल पाउन एकदमै गाह्रो छ विदेश गयो भने कम्तीमा मिहिनेत र दुःख गरेअनुसार त्यसको पारीश्रमिक त राम्रो पाइन्छ भन्ने सोचेर नै विदेश पलायन हुने युवाहरूको संख्या बढेको हो ।

गाउँमा मलामी पाइँदैन, बहुविवाहका घटना पनि बढेका छन् । सामाजिक समस्याहरू थपिइरहेका छन् । यो सवालबारे नेतृत्व मौन छ ।

यस्तै गरेर प्रविधिको अत्यधिक विकासले पनि आजका युवालाई निराश बनाउने वातावरणमा भूमिका खेलेको छ र उनीहरूको कल्पनाशक्तिलाई पनि बढाउँदै लगिरहेको छ । यसबाहेक युवाहरूले सामाजिक मिडियामार्फत विविध सामग्रीहरू पाउँछन् जुन उनीहरूको इच्छा र मानसिक अवस्थालाई असर पार्ने माध्यम बनिरहेको छ । यसले युवाहरूलाई छिटोभन्दा छिटो विदेश जान धकेल्ने गर्दछ ।

देशको जनशतिलाई नयाँ प्रविधि र बजार सुहाउँदो गुणस्तर र सीपयुक्त बनाई स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा रोजगारीका अवसरहरू प्रवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता हो । बेरोजगारी घटाउन रोजगारदाता र कामदारको हितमा औद्योेगिक सम्बन्धमा सुधार र लगानीमैत्री वातावरण कायम गर्नुका साथै राज्य श्रमजिवी कामदारहरूको आधारभूत हक अधिकारको संरक्षण तथा सुरक्षित कार्यव्यवस्थाको प्रर्वद्धन गर्दै उत्पादन र उत्पादकत्वको वृद्धिका साथै श्रम, कानुन र प्रशासनलाई सक्षम र समयसापेक्ष बनाउन अब ढिलाइ गर्नु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?