काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता विवादलगायतका विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
पार्टी महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कहाँ-कहाँको विवाद समाधान भयो भन्दै प्रश्न गरेको छ ।
बिहीबार (आज) ध्यानाकर्षण पत्र बुझाउँदै जिल्ला सभापतिहरुले क्रियाशील सदस्यतासम्बन्धी विवाद के-कति समाधान भयो भन्दै क्रियाशील सदस्यताको अद्यावधिक नभएको प्रति आपत्ति जनाएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।
‘नेपालको संविधानमा राजनीतिक दलसम्वन्धी रहेको प्रस्ट व्यवस्था (धारा २६९ को उपधारा ४) का कारण उत्पन्न भएको वैधानिकतासम्बन्धी प्रश्नको भरपर्दो निरुपण नगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले क्रियाशील सदस्यतासम्बन्धी समस्याहरु समाधान गरी भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर आजको दिनसम्म कुन-कुन जिल्लाका कुनकुन समस्या के कसरी समाधान भए र क्रियाशील सदस्यताको अद्यावधिक अवस्था के छ भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन। ’ पत्रमा भनिएको छ ।
त्यसैगरी पार्टीको केन्द्रीय नेतृत्वले छानबिन समितिको विधानसम्वत अधिकारी खोसेर केन्द्रले हस्ताक्षर गरेको आरोप लगाएको छ । पार्टीले क्रियाशील सदस्यता विवाद समाधानका लागि नेताहरुलाई जिम्मेवारी दिइए पनि हालसम्म सो बारेमा नेता कार्यकर्ताहरुलाई जानकारी नभएको कारण अन्यौलता बढेको नेता केसीको भनाइ रहेको छ ।
पत्रमा भनिएको छ–‘जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समितिको विधानसम्मत अधिकार खोसेर केन्द्रीय छानवीन समितिले उजुरी वा गुनासो सोझै केन्द्रमा पठाउन निर्देशन भएबमोजिम संकलित उजुरी/गुनासोहरुको के-कति संवोधन भयो, भएन वा हुँदैछ भन्ने कुराको कुनै जानकारी नगरिएका कारण क्रियाशील सदस्यताको विषयलाई लिएर सबै तहका साथीहरु यतिखेर अन्यौलग्रस्त, त्रसित, आतंकित र भयक्रान्त छन। यस्तो मनोदशामा पार्टी सदस्यहरुलाई राख्नु भनेको पार्टी जीवनकै लागि स्वस्थकर होइन।’
क्रियाशील सदस्यता विवादकै कारण महाधिवेशन सरेसँगै कांग्रेसका तीन नेताहरुलाई क्रियाशील सदस्यता विवाद समाधानको जिम्मा दिइएको छ ।
यस्तो छ ध्यानाकर्षणपत्र
जिल्ला सभापतिहरुको तर्फबाट केन्द्रीय सभापतिलाई ध्यानाकर्षण पत्र
नेपालको संविधानमा राजनीतिक दल सम्वन्धी रहेको प्रष्ट ब्यवस्था (धारा २६९ को उपधारा ४) का कारण उत्पन्न भएको वैधानिकता सम्वन्धी प्रश्नको भरपर्दो निरुपण नगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले क्रियाशील सदस्यता सम्वन्धी समस्याहरु समाधान गरी भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर आजको दिनसम्म कुन कुन जिल्लाका कुनकुन समस्या के कसरी समाधान भए र क्रियाशील सदस्यताको अद्यावधिक अवस्था के छ भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन।
जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समितिको विधानसम्मत अधिकार खोसेर केन्द्रीय छानवीन समितिले उजुरी वा गुनासो सोझै केन्द्रमा पठाउन निर्देशन भएबमोजिम संकलित उजुरी/गुनासोहरुको के कति संवोधन भयो, भएन वा हुँदैछ भन्ने कुराको कुनै जानकारी नगरिएका कारण क्रियाशील सदस्यताको विषयलाई लिएर सबै तहका साथीहरु यतिखेर अन्यौलग्रस्त, त्रसित, आतंकित र भयक्रान्त छन। यस्तो मनोदशामा पार्टी सदस्यहरुलाई राख्नु भनेको पार्टी जीवनकै लागि स्वस्थकर होइन।
पारदर्शी सदस्यता प्रणाली लोकतन्त्रको आत्मा हो। महाधिवेशनको वातावरण क्रियाशील सदस्यताको सार्वजनिकीकरण र शुध्दीकरणले मात्र सुनिश्चित गर्दछ। तसर्थ, अविलम्व क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न, निर्धारित मापदण्ड बमोजिम समस्याहरुको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न हार्दिक आग्रह गर्दछौं।
शतप्रतिशतभन्दा बढी इन्ट्री भएका, पार्टीको तहगत सिफारिस नभई सोझै माथिबाट थपिएका तथा अन्य पार्टीबाट समायोजनका नाममा विना आधार जथाभावि इन्ट्री गरिएका नामहरु अविलम्व हटाइयोस र तहगत सिफारिस भएरपनि ईन्ट्री नभएका नामहरु तत्काल समावेश गरियोस। वडा भेलामार्फत वडा कार्यसमितिले माईन्यूट गरी पठाएको दस्तावेज (हार्डकपि)लाई मात्र आधिकारिकता दिइयोस।
हामी जिल्ला सभापतिहरुले उठाएका जायज आवाजमाथि पटकपटक उपेक्षा हुँदै आएको हामीले महशुस गरेका छौं। क्रियाशील सदस्यताको पारदर्शी समाधान खोज्ने भनिएको यतिदिन भैसक्दा पनि क्रियाशील सदस्यतासँग जोडिएका सवालहरुको समाधानलाई लिएर आजसम्म जिल्ला सभापतिहरुसँग कुनै परामर्श गरिएको छैन।
विधि, पध्दति र मापदण्ड अनुसार समाधान खोज्ने कुरामा हामी सहयोग गर्न सदा तत्पर छौं। विनम्रतापूर्वक यति आग्रह गर्दागर्दै पनि पार्टीको वैधानिकता र क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी हाम्रा सामूहिक चासो र चिन्ताको गंभीरतापूर्वक हल नखोजिएमा हामी कस्तै कठोर कदम चाल्न समेत वाध्य हुने कुरा बेलैमा जानकारी गराउँछौं।
जय नेपाल !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया