काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको वास्तविक तथ्यांक र अवस्था पत्ता लगाई सुरक्षित रुपमा खाने बस्ने व्यवस्था मिलाउँदै छिटो भन्दा छिटो उद्धार गरी नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले दिएको निर्देशनबारे सभापति कृष्णभक्त पोखरेलले भने,‘श्रम स्वीकृति लिई वा अन्य पक्रियाबाट त्यहाँ पुगेका नेपाली नागरिकको जोखिममा पर्नसक्ने जानकारी विभिन्न सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको एकिन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई, सुरक्षित रुपमा खाने, बस्ने प्रवन्ध मिलाइ जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको जीवन रक्षा र मानव अधिकारको संरक्षण गर्न र छिटोभन्दा छिटो उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्ने ।’
बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने सन्दर्भमा महत्वपूर्ण निर्णय र पहलकदमी गरिरहेको बताए । उहाँले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनको सन्दर्भमा नेपालले तटस्थताको नीति लिएको र गम्भिरतापूर्वक अवलोकन गरिरहेको बताए ।
उहाँले भने, ‘यो घटनाको बारेमा नेपाल सरकारले तटस्थताको नीति लिएको छ । त्यहाँको पुरानो संस्थापन पक्ष र विद्रोही पक्ष जस्तोखालको घटनाक्रमहरु भएको छन्, त्यसलाई हामीले गम्भिरतापूर्वक अवलोकन गरिरहेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया