कब्जियतको समस्यालाई कसरी हटाउने

शरीरबाट मल निष्कासनको प्रक्रिया स्वभाविकरूपमा नहुनु, गाह्रो हुनु। मल त्याग गर्न बल प्रयोग गर्नुपर्ने अवस्था आउनु, दैनिक एक पटक सजिलै दिशा गर्न नसकिएको अवस्था हुनुलाई कब्जियत भनिन्छ ।

विशेष रोग लागेको अवस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम पार्किन्सन्सजस्ता समस्या बाहेक कब्जियत हुने मुख्य कारण अप्राकृतिक जीवनशैली नै हो । भोजन, व्यायाम, विश्राम, विचार र भावनात्मक रूपमा असन्तुलित जीवन बिताउनु नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोक लागेको भन्दा बढी खाने, गरिष्ठ भोजनहरू, मसिनो मीठो, तारे भुटेको, पचाउन कठिन हुने, जङ्कफूड, बट्टाबद्ध खाना र संरक्षित खाद्यान्न खाइरहने, सागसब्जी सलाद जस्ता खस्रा मोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावना रहन्छ ।

व्यस्तता, भाग दौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका रोगीहरूमा कब्जियतको समस्या बढी देखिने गर्छ । व्यायाम गर्न र श्रमबाट भाग्नेहरूलाई पनि कब्जियत हुन छाड्दैन भने लामो समयसम्म औषधी, पेनकिलर, नार्कोटिक्स र दिमागलाई लट्ठ्याउने औषधि सेवन गर्नेहरूमा पनि कब्जियतको समस्या देखिने गर्छ ।

कब्जियतका लक्षणहरु

मल त्याग गर्ने समयको अन्तरमा ढिलाइ हुनु, मल त्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिसा कोमल नभएर गोटा पर्नु, अपान वायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु, मुख बिग्रिनु, रिँगटा लाग्नु, तिघ्राको पछाडि पट्टिको मांसपेशीहरू दुख्नु, टाउको दुख्नु , छाती पोल्नु र थाकेको महसुस हुनु ।

कब्जियतको जोखिम

कब्जियत सामान्य तथा बहु प्रचलित रोग भए पनि यो रोग कैंयौ रोगहरूको कारण समेत हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भवावही रोगहरूको जननी मानिएको छ । कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामै रहिरहने भएकाले आन्द्राभित्रै मल सडेर जान्छ । यसरी लामो समयसम्म आन्द्रामा मल रहीरहदाँ आन्द्रा भित्रै विषाक्त पदार्थहरू उत्पन्न हुन्छ । यी विषाक्त पदार्थहरू आन्द्राबाटै शोषित भएर रगतको माध्यमबाट शरीरका विभिन्न अङ्गहरूमा पुग्छन् । फलतः अङ्गहरूमा विषाक्तता बढ्न गई महत्त्वपूर्ण अङ्गहरूको कार्य क्षमतामा कमी आउँदा अनेक प्रकारका रोगहरू पैदा हुन जान्छन् ।

पूर्वीय स्वास्थ्य विज्ञहरूको मत अनुसार कब्जियतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रिक«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चायाँ–पोतो, डन्डिफोर आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुने जस्ता किसिमका समस्याहरू आउँछ । यस्तै गरी कब्जियतको समस्याले मानसिक समस्याहरू जस्तै डर, चिन्ता, खिन्नता, उदासीनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडी, पटक पटक इन्फेक्सन हुने, सर्दी–मर्कीले सताई रहनु, ज्वरो, खोकी बल्झी रहनु, मांसपेशी तथा नसा–नाडीहरू कमजोर हुनु, हार्मोनहरुको मात्रमा घटबढ भइरहनु, कोलेस्ट्रोल, युरिक एसिड आदी रगतमा भएका तत्त्वहरूका मात्रा घटबढ भइरहनु, रक्त अल्पताको समस्या देखा पर्नु महत्पूर्ण अङ्गहरूको कार्य क्षमता घट्नुजस्ता रोगहरू देखा पर्न सक्छ ।

कब्जियतको उपचार

विशेष रोगावस्थाका कारणले कब्जियत भएको भए रोगको उचित निदान गरेर रोग निर्मूल पार्नेतिर लागौँ । गलत आहार विहार र जीवनशैली भएकाहरूले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अङ्ग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्न लिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ।

१. कब्जियत भएकाहरूले पाचन अंङ्गहरुलाई अधिकतम विश्राम दिनकालागि १६ घण्टे उपवास विधि अपनाउनु पर्ने हुन्छ । यो उपवास गर्नका लागि साँझ ६ बजे भन्दा पहिल्यै खाना खाएर भोलिपल्ट बिहान १० बजे भन्दा पछाडि मात्र खाना खाने गर्नु पर्छ ।

२. साँझको खानामा अन्नलाई समावेश नगरेर फलफूल, तरकारी र झोलिलो कुरालाई मात्र समावेश गर्ने गर्दा कब्जियतको समस्या हटाउन सजिलो हुन्छ।

३. बिहानको नास्तापूर्व कुभिन्डो वा लौकाको जुस खाने गर्दा यो रोगको लागी अत्यन्त राम्रो गर्दछ।

४. बिहानको नास्तामा आफ्नो तौलको एक प्रतिशत जस्तै ७० किलोको मान्छे हो भने उसको लागि ७०० ग्राम, ६० किलोको मान्छे हो भने उसको लागि ६०० ग्राम, मौसम अनुसारको चार किसिमका फलफूलहरू जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल बेलौती, मेवा का साथै अङ्कुरित मुङ र मेथीहरू मौसमी तरकारीहरूलाई समावेश गर्ने । दाख र छोकडालाई राति भिजाएर बिहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ ।

५. ठोस भोजन दिनको एक पल्ट मात्रै लिने गरौँ बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहुँको वा मकैको पिठोको रोटी, काउली, बन्दा, घिरौँला र बेथेको सागलाई खानामा विशेष रूपमा समावेश गर्नुहोस् । मास र खेसरीको दाल बोक्रै सहित पकाएर खानाले पनि कब्जियतको समस्या कम गर्न सहयोग गर्छ ।

६. बेलुकाको भोजनमा अन्नलाई समावेश नगरेकै राम्रो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीसँग मोही मात्र खादा कब्जियतलाई कम गर्छ ।

७. माछा, मासु, अन्डा, घ्यू, पनिर, दूध, मक्खन र मैदाबाट बनेका खानेकुराहरू सकभर खानै हुदैंन । केरा, अङ्गुर, लिची जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, भन्टा, चुकन्दर, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नै राम्रो भने बेलुका नखानु ।

कब्जियत भएकाले गर्नुपर्ने व्यायमहरू

अङ्ग व्यायम, रीढ व्यायम, सिथिलीकरण व्यायम, प्रातः भ्रमण, सूर्यनमस्कार, योग आसन तथा प्राणायाम गर्नाले कब्जियतको समस्यामा अत्यन्त लाभ पुर्‍याउँदछ । ताडासन, त्रियक ताडासन, पवन मुक्तासन, मण्डुकासन, मत्येन्द्र आसन, भुजांगासन, उदारकर्स धनुर आसन जस्ता आसन विधि, भस्त्रीका, अग्निसार, कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृतसरि काम गर्छ ।

कब्जियत भएमा गर्नुपर्ने उपचार

१. पेटलाई सफागर्ने षटकर्म विधिहरू जस्तै एनिमा, कुन्जल, लधु तथा गरु संख प्रक्षालन, पेटको मालिस, माटोको पेडुँपट्टी, कटि स्नान र गणेश क्रियाजस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरूले अपनाउनु पर्ने हुन्छ ।

२. पेटको मांसपेशीहरूलाई प्रभाव तुल्याउने किसिमका उपचार पद्धतिहरू जस्तै तातोको सेकाई, पेटको व्यायाम आदि गर्दा पनि राम्रो लाभ पुर्‍याउदछ ।
कब्जियत आफैमा ठुलो समस्या नभए पनि कयौँ रोगहरूको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकराल समस्या बाट मुक्त भई सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।

कब्जियत भएकाहरूले अपनाउनुपर्ने सावधानीहरु

१. राति चाँडै सुत्ने, बिहान ब्रह्म मूर्हत (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडि देखि घाम झुल्किदा सम्मको समय) भित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जति मन तातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्‍याउँदछ ।

२. दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अङ्ग बनाऔँ । शरीरको व्यायाम, रीढ व्यायाम, शिथिल करण व्यायाम, प्राँतःभ्रमण जस्ता ब्यायमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पुर्‍याउछ ।

३. भोजनको समय निश्चित गरी नियमित सोही समयमै भोजन गर्ने गरौँ । रातीको भोजन सकभर सुर्यअस्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्ये एक हो । भोजन गर्दा खुब चपाई चपाई खाने गरौँ । भोजनको समयमा बातचित गर्ने, उठी उठी वा टिभी, कम्प्युटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियतको समस्या बढी हुने गरेको पाइएको छ ।

४. खानामा मौसमी तथा स्थानीय अन्न तथा सागसब्जीहरूलाई विशेष रूपमा समावेश गर्नुहोस् । काँचो सागसब्जी, सलाद तथा रेसादार फलफूलहरूको सेवनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।

५. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमै लगाऔँ । शौचालयमा बसेर अखबार पढ्ने, गीत सङ्गीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अङ्गहरूलाई दिन विलम्ब गर्ने हुँदा कब्जियत हुने सम्भावना रहन्छ ।

६. कब्जियतका उपयुक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्श लिई रोगको निदान गर्न तिर लाग्नु राम्रो हुन्छ ।

डा. कोइराला योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय चितवनका प्रमुख हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?