फेसबुक र युट्युबले लगाए तालिबानमाथि प्रतिबन्ध

लोकपथ
0
Shares

काठमाडौं । तालिबानले अफगानिस्तानमा २० वर्षपछि पुनः सत्तामा आएसँगै सोसल मिडिया कम्पनीहरुमाथि पनि स्वयं तालिबान तथा सम्बन्धित सामग्रीहरुमाथि कस्तो व्यवहार गर्ने भन्ने निर्णय गर्ने दबाब बढिरहेको छ ।

सबैभन्दा ठूलो सोसल मिडिया फेसबुकका अनुसार खतरनाक व्यक्ति तथा संगठनप्रतिको नीतिअन्तर्गत तालिबान लामो समयदेखि फेसबुकमा प्रतिबन्धित रहेको छ । फेसबुक र भिडियो स्ट्रिमिंग प्लाटर्फम युट्युबले चाहिं तालिबानमाथिको प्रतिबन्धलाई कायमै राख्ने बताएका छन् ।

तालिबानको प्रसंसा गरिएका सामग्रीहरुमाथि सक्रियरुपमा प्रतिबन्ध लगाइनुका साथै अवस्थाको अनुगमनका लागि अफगान विज्ञहरुको टिम खटाइएको फेसबुकका प्रवक्ताले जनाएका छन् ।

तालिबानलाई फेसबुकका सेवाहरुबाट बञ्चित गरिनुका साथै तालिबानसँग सम्बन्धित सबै अकाउन्ट डिलिट गरिने छ । साथै तालिबानको समर्थनमा पोस्ट गर्नेहरुका फेसबुक अकाउन्टमाथि पनि प्रतिबन्ध लगाइने फेसबुकले बताएको छ ।

फेसबुकका अनुसार पछिल्लो केही वर्षदेखि तालिबानका कतिपय नेताहरुका साथै प्रवक्ता समेत फेसबुक प्रयोग गर्दै आएका छन् र उनीहरुका लाखौँको संख्यामा फलोअर्स छन् । तथापि अब तालिबानसँग सम्बन्धित सबैको फेसबुकमा प्रतिबन्ध लगाइनेछ । फेसबुक मात्र नभइ फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा पनि तालिबानलाई प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ ।

युट्युबले पनि अन्ततः तालिबानमाथि प्रतिबन्ध लगाउने आफ्नो नीतिलाई कायमै राख्ने भएको छ ।

युट्युब प्रवक्ताका अनुसार तालिबानद्वारा सञ्चालित तथा स्वामित्व राखिएको विश्वास गरिएका सबै युट्युब अकाउन्ट निस्तेज बनाइनेछ । यो कार्य कम्पनीको लामो समयदेखिकै नीति रहेको उनले बताए ।

उता तालिबान प्रवक्ताले भने आफ्नो दशौँ लाख फलोअर्स भएको ट्वीटर अकाउन्टको प्रयोग गरी नयाँ नयाँ सूचना तथा समाचारहरु सार्वजनिक गर्ने गरेका रोयटर्सले जनाएको छ । यस विषयमा जिज्ञासा राख्दा ट्वीटरका अधिकारीले हिंश्रक संगठनहरु विरुद्ध आफ्नो नीति कायमै रहेको बताए पनि तालिबानप्रति कस्तो नीति अख्तियार गर्ने भन्ने बारेमा केही खुलाएनन् ।

एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?