जर्मन सुपर कपको उपाधि बायर्नलाई, डर्टमन्ड घरेलु मैदानमै पराजित

काठमाडौं। सन् २०२१/२२ सिजनको जर्मन डिएफएल सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ।

गए राति चिर परिचित प्रतिद्वन्दी बोरुसिया डर्टमन्डलाई उसैको घरेलु मैदान, सिग्नल इडुना पार्कमा ३-१ गोलले पराजित गर्दै साविक विजेता बायर्नले उपाधि उचालेको हो। हरेक वर्ष जर्मन बुन्डेस लिगा विजेता र डिएफबी पोकाल विजेताबीच सिजनको पहिलो उपाधिको लागि जर्मन सुपर कप खेलिन्छ।

आफ्नो ९औं सुपर कप उपाधि उचाल्ने क्रममा बायर्नले पहिलो हाफको ४१औं मिनेटमा अग्रता लिएको थियो। सर्ज ग्नाब्रीको पासमा बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० गोलको अग्रता लिएको बायर्न दोस्रो हाफको सुरुवाती ५ मिनेटमै अर्को गोल थप्यो। यस पटक बायर्नका अर्का फरवार्ड थोमस मुलरले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए। तर दोस्रो हाफको ६४औं मिनेटमा गत सिजनको डिएफबी पोकाल विजेता डर्टमन्ड खेलमा फर्कियो।

ज्युड बलिङघामको पासमा कप्तान मार्को रुईसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। खेलमा दुवै टोलीले लगभग ५० प्रतिशत बल आफ्नो कब्जामा राखेपनि बायर्नले कुल १७ शट प्रहार गरेको थियो। फलस्वरूप खेलको ७४औं मिनेटमा पाहुना टोलीले खेलमा तेस्रो गोल गर्न सफल भयो।

यस पटक मिडफिल्डर कोरेन्टिन तोलिस्सोको पासमा स्ट्राइकर लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा बायर्नको तेस्रो गोल गर्न सफल भएका थिए। त्यसपछि खेलमा अरु कुनै गोल हुन सकेन र गत सिजनको बुन्डेस लिगा विजेता तथा साविक सुपर कप विजेता बायर्नले यस सिजनको पहिलो उपाधि उचाल्यो।

यसै सिजन आरबी लाईपजिगबाट बायर्न म्युनिख आएका प्रशिक्षक जुलियन नाइँगलस्म्यानको यो पहिलो उपाधि हो। प्री-सिजन तथा बुन्डेस लिगाको पहिलो खेलमा जित विहिन रहेको बायर्नलाई यस सिजनको पहिलो उपाधिले ठूलो हौसला मिल्नेछ।

उता डर्टमन्डले भने घरेलु मैदानमा हार बेहोर्दै ७औं सुपर कप जित्ने चाहना अधुरो भएको छ। यस सिजन बायर्नलाई पछि पार्दै बुन्डेस लिगा उपाधि जित्ने प्रमुख दावेदार मानिएको डर्टमन्डले पहिलो उपाधि जित्दै आफ्नो मुख्य प्रतिद्वन्दीमाथि हैकम जमाउने सुनौलो मौका गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?