एएफसी महिला एसियन कप छनोटको मिति तय, नेपालले पहिला फिलिपिन्ससँग खेल्ने

काठमाडौं। एएफसी महिला एसियन कप २०२२ अन्तर्गत छनोट खेलको मिति तय भएको छ।

छनोट चरणमा समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पहिलो खेल फिलिपिन्ससँग खेल्ने पक्का भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलवार नेपाल र फिलिपिन्सबीचको खेल आगामी सपेटेम्बार १८ मा हुने जानकारी दिएको छ।

त्यस्तै समूह ‘एफ’मा नै रहेको हङकङ र नेपालबीचको खेल भने सेप्टेम्बर २१ मा हुने जानकारी एन्फाले दिएको छ। तीन राष्ट्र सम्मिलित समूह ‘एफ’को अन्तिम खेल भने फिलिपिन्स र हङकङबीच सेप्टेम्बर २४ मा हुनेछ।

छनोट चरणका सबै खेल उज्वेकिस्तानको ‘जेएआर स्टेडियम’मा खेलिनेछन्। एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भनेपनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्ट स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको हो।

छनोट खेल सेप्टेम्बर १३ देखि २५ सम्म हुँदैछ। २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?