टी-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक, भारतको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं। आगामी अक्टोबर १७ देखि नभेम्बर १४ सम्म युएई तथा ओमानमा आयोजना हुन लागेको टी-ट्वान्टी विश्वकप २०२१ को खेल तालिका सार्वजनिक भएको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलवार टी-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिकाअन्तर्गत पहिलो चरणमा आठ टोलीले छनोट खेल खेल्नेछन्।

अक्टोबर १७ देखि २२ सम्म खेलिने छनोट खेलअन्तर्गत समूह ‘ए’मा आयोजक राष्ट्र ओमानसहित, पपुवा न्युगिनी (पीएनजी), स्कटल्यान्ड र बलियो टोली बंगलादेश रहेका छन्। यस समुहका सबै खेल ओमानमा खेलिने तालिका रहेको छ। त्यस्तै समूह ‘बी’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया र श्रीलंका रहेका छन्। यस समुहका खेल भने युएईमा खेलिने तालिका रहेको छ।

यी दुई समूहको शीर्ष दुईमा पर्ने टोली अर्थात् जम्मा चार टोलीले अक्टोबर २३ देखि युएईमा आयोजना हुने मुख्य प्रतियोगितामा स्थान पाउनेछन्। मुख्य प्रतियोगितामा ‘सुपर १२’ नामक दुई समूह छुट्याइएको छ। सुपर १२ अन्तर्गत पहिलो समूहमा साबिक विजेता वेस्ट इन्डिजसहित अस्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्ल्यान्ड रहेका छन्। यस समूहमा छनोट चरणबाट समूह ‘ए’को विजेता तथा समूह ‘बी’को उप-विजेता टोलीले स्थान पाउनेछन्।

उता सुपर १२ अन्तर्गत दोस्रो समूहमा भने पुराना प्रतिद्वन्दी भारत र पाकिस्तानसहित अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्। यस समूहमा छनोट चरणबाट समूह ‘बी’को विजेता टोली तथा समूह ‘ए’को उप-विजेता टोलीले स्थान पाउनेछन्।

सुपर १२ अन्तर्गत समूह १ को पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ भने समूह २ को पहिलो खेलमा पुराना प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्ने छन्।

सुपर १२ अन्तर्गत सम्पूर्ण खेल पश्चात् दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनल खेल खेल्नेछन्। आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार समूह १ को विजेता टोलीले समूह २ को उप-विजेता टोलीसँग नम्भेम्बर १० मा खेलिने पहिलो सेमीफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै समूह १ को उप-विजेता टोलीले समूह २ को विजेता टोलीसँग नभेम्बर ११ मा खेलिने दोस्रो सेमीफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ। त्यसपछि दुई सेमीफाइनलका विजेता टोलीहरुले नम्भेम्बर १४ को फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?