‘द लर्ड्स’मा भारतलाई सफलता, अन्तिम दिनमा इङ्ल्यान्ड स्तब्ध

काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो टेस्टमा १५१ रनको शानदार जित दर्ता गरेको छ।

‘द होम अफ क्रिकेट’ भनेर चिनिने इङ्ल्यान्डको ‘द लर्ड्स’ मैदानमा खेलिएको दोस्रो खेलको अन्तिम दिनमा भारतले शानदार प्रदर्शन देखाएको हो। पाँचौं दिनको खेल सुरु हुँदासम्म ६ विकेट गुमाएर मात्र १८१ रन जोडेको भारतले अन्तिम दिनको सुरुवातमै विकेटकिपर ऋषभ पन्तलाई गुमाएको थियो।

Mohammed Shami and Jasprit Bumrah leave the field after putting India in front, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

तर खेलमा भारतीय तिब्र गतिका बलरद्वय मोहम्मद शमी र जसप्रित बुम्राहले ब्याटिङमा उल्लेखनीय योगदान दिए। शमी र बुम्राहले १०औं विकेटको लागि ८९ रनको साझेदारी गरेका थिए। सो दौरान शमीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलेका थिए भने बुम्राहले अविजित ३४ रन बनाएका थिए।

जवाफी ब्याटिङमा २७२ रनको लक्ष्य लिएर क्रिजमा उत्रेका इंग्लिश ओपनरद्वय रोरी बर्नस र डोम सिब्ले डक आउट हुँदै पविलियन फर्किए। पहिलो इनिङमा १८० रनको अविजित पारी खेलेका इंग्लिश कप्तान जो रुटले दोस्रो इनिङमा पनि सर्वाधिक ३३ रन बनाउँदा उप-कप्तान तथा विकेटकिपर जोस बटलरले २५ रन बनाए। अन्य इंग्लिश ब्याट्सम्यान सस्तोमै आउट हुँदा दोस्रो इनिङमा इङ्ल्यान्ड १२० रनमा समेटियो।

Joe Root drives through the covers, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

त्यसअघि पहिलो इनिङमा भारतले ३६४ रनको विशाल योगफल तयार गरेको थियो। जसमा ओपनर के.एल. राहुलले सर्वाधिक १२९ रन बनाएका थिए भने रोहित शर्माले ८३ रन जोडेका थिए। पहिलो इनिङको जवाफी ब्याटिङमा इंग्लिश टोलीले पनि दमदार ब्याटिङ गरेको थियो।

इंग्लिश टोलीले पहिलो इनिङमा ३९१ रन बनाउन सफल भएको थियो। २७ रनको लिड लिने क्रममा इंग्लिश कप्तान जो रुटले अविजित १८० रनको योगदान दिएका थिए भने जोनी बेरस्टोले ५७ रन बनाएका थिए। भारतका तिब्र गतिका बलर मोहम्मद सिराजले दुवै इनिङमा समान ४-४ विकेट लिन सफल भएका थिए।

Mohammed Siraj sparks celebrations in the Indian camp with his double-strike, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

यस शानदार जितसँगै भारतले पाँच टेस्ट खेल सिरिजमा १-० को अग्रता लिएको छ। यी दुईबीचको पहिलो टेस्ट बराबरीमा अन्त्य भएको थियो। दोस्रो टेस्ट खेलमा के.एल. राहुल ‘म्यान अफ दि म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?