काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित उद्धार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा आज बसेको सम्बद्ध निकायको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले अगफानिस्तानको घटनाले नेपालमा पनि केही न केही प्रभाव पर्न सक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न आग्रह गरे ।
उनले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काएपछि गर्नुपर्ने तयारीका बारेमा समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराए । गृहमन्त्री खाँणले स्वदेश फर्काएपछि गर्नुपर्ने स्वास्थ्य परीक्षणको व्यवस्था, कोरोना सङ्क्रमतिको उपचारको व्यवस्था र अरूलाई घरसम्म पु¥याउने संयन्त्रको समेत व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर गर्नुपर्नेमा जोड दिइएको छ ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरु, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि र अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत रुपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका लागि गठित कार्यदलका सदस्यको सहभागिता थियो ।
बैठकमा परराष्ट्र मन्त्रालयले हाल अफगानिस्तानमा रहेका नेपालीको अवस्था, उनीहरुको सुरक्षा र सुरक्षित तवरबाट स्वदेश फर्काउन भइरहेका प्रयासका बारेमा जानकारी गराइएको थियो । सुरक्षा निकायका प्रमुखले सो घटनाबाट मुलुकमा पर्न सक्ने प्रभाव र सुरक्षाका सम्बन्धमा अपनाउनुपर्ने सावधानीका बारेमा प्रस्तुति गरेको गृह मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया