काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तालिवानी विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि शान्ति सुरक्षा खलबलिएको भन्दै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन माग गरेको हो ।
बैठकले अफगानिस्तानमा रहेका नेपालीको पूर्ण सुरक्षाको व्यवस्था गर्न पनि सरकारसँग माग गर्ने निर्णय गरेको छ । त्यसैगरी राप्रपाले बेलायतमा आन्दोलनरत् भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका मुद्दा सम्बोधनका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले भ्रष्टाचार अहिले देशमा महारोग जस्तै भएको र विगतमा भएका सुनकाण्ड, वाईड बडि जहाज खरिद काण्ड, बालुवाटार स्थित ललिता निवास जग्गा काण्ड, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, यतिसँग सम्बन्धित भ्रष्टाचार, एनसेल कर छलि प्रकरण, लगायतका अनियमितता र भ्रष्टाचारको छानविन गर्न र दोषीलाई कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।
राप्रपाले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले युद्धस्तरमा कोरोना विरुद्धको खोप लगाउने कार्य गर्न पनि सरकारसँग माग गर्ने निर्णय गरेको छ । यसैगरी भदौ मसान्तभित्र वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने पनि राप्रपाले निर्णय गरेको छ । राप्रपाको महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया