‘सरकारद्वारा बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकलाई हतोत्साहित गर्ने काम भयो’

लोकपथ
91
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकारले बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकहरुलाई हतोत्साहित गर्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोरखाहरुको माग पुरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरुको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरु आमरण अनशन बस्नुपर्ने होइन भनेर लेखिएको भन्दै आपत्ति जनाए ।

उनले भूतपूर्व गोरखाहरुको हकहितको निम्ति सरकार अग्रसर हुनुपर्नेमा उल्टै हतोत्साहित गराएको आरोप लगाए ।

उनले भने, ‘नेपाल सरकारले आफ्नो विदेशस्थित नागरिकहरुको हकहितको सम्बन्धमा तत्काल आवाज उठाउनुपर्नेमा हालै परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराइएको एउटा पत्रमा उल्टै भूतपूर्व गोर्खा सैनिकहरुले यसरी आमरण अनशन गर्नु, सुहाउने कुरा होइन भनेर पत्र पठाएको देख्दा स्वयं अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा काम गर्ने हामी त्यसका सदस्यहरु लज्जित भएका छौँ । आफ्ना देशका नागरिकहरुका बारेमा जोडदार रुपमा आवाज उठाउने र उनीहरुको हकहितको लागि सरकार अग्रसर हुनुपर्नेमा त्यतातर्फ ध्यान नदिएर उल्टै आफ्नो न्यायोचित माग उठाउने भूतपूर्व गोर्खा सैनिकहरुलाई हतोत्साहित गर्ने प्रकारका गतिविधि गरिनु अत्यन्त खेदजनक कुरा हो ।’

उपाध्यक्ष रावलले भूतपूर्व गोर्खा सैनिकहरु १० दिनदेखि आमरण अनशन बसिरहेकाले स्वास्थ्यस्थिति बिग्रिएको भन्दै तत्काल उच्चस्तरिय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ता गर्न पनि सरकारलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?