नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्ने पक्का भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार औपचारिक रूपमा नेपाल र पीएनजीबीचको सिरिज पक्का भएको जानकारी दिएको छ। नेपालले आगामी सेप्टेम्बर ५ र ८ (भदौ २० र २३) मा पीएनजीसँग दुई मैत्रीपूर्ण एकदिवसीय खेलको सिरिज खेल्ने भएको छ। यी दुईबीचको खेल ओमनमा खेलिने छ।

आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले संयुक्त राज्य अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दैछ। सोही शृंखलाको लागि अभ्यास स्वरूप नेपाल र पीएनजीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, संयुक्त राज्य अमेरिका र ओमानबीचको अन्तराष्ट्रिय एकदिवसीय त्रिकोणात्मक सिरिज आगामी भदौ २८ गतेदेखि असोज ४ गतेसम्म आयोजना हुने पक्का भएको छ। नेपाल अगस्टको अन्तिम साता ओमान प्रस्थान गर्ने सम्भावना रहेको छ। नेपालको ओमान भ्रमण सेप्टेम्बर २० मा अन्त्य भए लगत्तै सेप्टेम्बर २५ देखि एभरेस्ट प्रिमियर लिग (ईपीएल) शुरु हुने तालिका रहेको छ।

Nepal vs Oman – WicketNepal

नेपालले विश्वकप लिग-२ अन्तर्गत गत वर्ष नै ओमान र संयुक्त राज्य अमेरिकासँग ४ एकदिवसीय खेल खेलिसकेको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग-२ मा ७ टोली सहभागी रहेका छन्। सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

पीएनजीविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भइसकेको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले डाकेका १९ सदस्सीय राष्ट्रिय टोलीको प्रशिक्षणमा गुलशन झा पहिलो पटक समावेश हुन सफल भएका छन्।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?