काठमाडौं । यतिबेला अफगानिस्तानमा जे भइरहेको छ, त्यसको पृष्ठभूमि थाहा पाउन दुई दशक अगाडि पुग्नुपर्छ ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्यो । तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गरेपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो । सत्ताबाट बाहिरिएपछि उक्त समूह एक आतंककारी विद्रोही फौजमा परिणत भयो र घातक तथा निकृष्ट प्रकृतिका हमलाहरू निरन्तर जारी राखयो । जसले अफगान सरकारलाई अस्थिरतातर्फ डोहोर्यायो ।
अन्तर्राष्ट्रिय गठबन्धनले अफगानिस्ताबाट सन् २०१४ मा आफ्नो सैन्य मिसन अन्त्य ग¥यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो । तर अमेरिका एक्लैचाहिँ हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर अफगानिस्तानसँग सक्रिय सम्बन्धमा रह्यो । यो बीचमा तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो । यो समूहले यतिसम्म अराजक र आक्रामक कारबाहीका श्रृंखला अघि बढायो कि, उसले महिला, पत्रकार, मानव अधिकारकर्मी, बालबालिकालाई निकै त्रासदीपूर्ण र निर्मम प्रकृतिका घटना समेत गरायो ।
सन् २०१८ मा तालिबान अफगानिस्तानभरि ७० प्रतिशत क्षेत्रमा सक्रिय रहेको तथ्य पत्ता लागेको थियो । सन् २०११ मा भएको आक्रमणपछि अन्तर्राष्ट्रिय गठबन्धनका करिब ३५ सय सदस्यहरूको अफगानिस्तानमा मृत्यु भयो जसमध्ये करिब २३ सय अमेरिकी थिए । मारिएका अफगान नागरिक, लडाकु र सरकारी फौजको संख्या भने हालसम्म पनि यकिन छैन ।
सन् २०१९ को फेब्रुअरीमा निस्किएको प्रतिवेदनअनुसार संयुक्त राष्ट्रसंघले ३२ हजारभन्दा बढी सर्वसाधारण मारिएको जनाएको थियो ।
ब्राउन युनिभर्सिटीको वाट्सन इन्स्टिट्युटले ५८ हजार सुरक्षा फौज र ४२ हजार विद्रोही लडाकुहरूको ज्यान गएको जनाएको छ । हाल अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल पुगेका कारण त्यहाँ तनाव चुलिँदो छ । लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि नियन्त्रण कायम गरेकै साँझ सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा रहेको राजधानी काबुल समेत उनीहरूले नियन्त्रणमा लिइसकेका छन् ।
को हुन् तालिबान लडाकुहरू ?
अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २०११ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै अफगान भू–भागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ ।
दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ ।
शान्ति सम्झौता भएको थियो ?
सन् २०१८ मा उक्त समूह अमेरिका समर्थित शान्ति वार्तामा प्रवेश ग¥यो र सन् २०२० को फेब्रुअरीमा दुई पक्षबीच कतारको दोहामा एउटा शान्ति सम्झौता भयो । शान्ति सम्झौताले अफगानिस्तानबाट अमेरिकी फौजको फिर्ती र तालिबानले उनीहरूमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनायो ।
सम्झौतामार्फत गरिएका अन्य प्रतिबद्धतामा तालिबान नियन्त्रित क्षेत्रहरूमा अल कायदा र अरु समूहलाई सञ्चालनमा आउन नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रक्रियालाई अगाडि बढाउने रहेका छन् । तर त्यसयता तालिबान लडाकुहरूले अफगान सुरक्षा फौज र सर्वसाधारण नागरिकलाई तारो बनाउने क्रम जारी राखेका थिए ।
तालिबान अर्थात् विद्यार्थीहरू
पास्तो भाषामा तालिबानको अर्थ ‘विद्यार्थीहरू’ भन्ने हुन्छ । अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको हो । मुख्यतः पास्तुन आन्दोलन सुरुमा धार्मिक संघसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन संघसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाएको बीबीसीले जनाएको छ ।
तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पास्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्तिसुरक्षा पुनस्र्थापित गर्ने र सरिया कानुन लागू गर्ने बाचा ग-यो । तालिबानले दक्षिण–पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्यो । सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे । त्यसको ठीक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे ।
उनी सोभियत संघको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात् ‘विधर्मीहरूसँग लड्ने योद्धाहरू’ तयार पार्ने संस्थापकमध्ये एक थिए । सन् १९९८ सम्ममा तालिबानहरूले लगभग ९० प्रतिशत भू–भागमाथि नियन्त्रण कायम गरे । सोभियतहरूलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानहरूलाई सुरुसुरुमा स्वागत गरे ।
भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो । तर तालिबानले आफूहरूले गर्ने सरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने– उदाहरणका लागि, हत्यारा तथा व्यभिचारीहरूलाई मृत्युदण्ड दिने र चोरका हात काटिदिने, नियम लागू गरे अथवा त्यसलाई समर्थन गरे ।

उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपथ्र्याे भने महिलाहरूले पूरै जीउ ढाकिने बुर्का लगाउनुपथ्र्याे । तालिबानहरूले टेलिभिजन, सङ्गीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीहरूलाई विद्यालय जान नदिनुपर्ने बताए । उनीहरूमाथि विभिन्न मानवाधिकार उल्लंघन र सांस्कृतिक दुव्र्यवहारका आरोप छन् ।
तीमध्ये एउटा नराम्रो उदाहरण भनेको अन्तर्राष्ट्रिय निन्दाबीच सन् २०११ मा जब उनीहरू मध्यअफगानिस्तास्थित प्रसिद्ध बामियान बुद्धको प्रतिमा ध्वस्त पार्न अघि बढ्नु थियो । पाकिस्तानले आफू तालिबानको सूत्रधार भएको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ । तर सुरुमा तालिबानसँग आबद्ध भएका धेरै अफगानहरू पाकिस्तानका मदरसाहरूमा अध्ययन गर्नेहरू भएकोमा थोरै द्विविधा रहेको बीबीसीले जनाएको छ ।
तालिबान सत्तामा रहेका बेला उनीहरूलाई मान्यता दिएका देशमा साउदी अरब र संयुक्त राज्य एमिरेट्सबाहेक पाकिस्तान थियो । तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने अन्तिम देश पनि पाकिस्तान नै थियो । एउटा बिन्दुमा तालिबानले आफूले नियन्त्रण गरेको पश्चिमोत्तर क्षेत्रबाट पाकिस्तानलाई अस्थिर तुल्याउने धम्की दियो ।
अन्तर्राष्ट्रिय रूपमा नै निन्दा गरिएको एउटा घटना थियो– पाकिस्तानी तालिबानहरूले सन् २०१२ को अक्टोबरमा गरेको हमला जब स्कुले छात्रा मलाला युसुफजाई आफ्नो गृहनगर मिङ्गोरा फर्किँदै थिइन् । पाकिस्तानको पेसावरस्थित एउटा विद्यालयमा भएको नरसंहारको दुई वर्षपछि एउटा महत्त्वपूर्ण सैन्य कारबाहीपछि पाकिस्तानमा सो समूहको प्रभाव कम भयो । सन् २०१३ मा अमेरिकी ड्रोन हमलामा पाकिस्तानी तालिबानका नेता हकिमुल्लाह महसुदसहित कम्तीमा तीन जना मारिए ।
न्यूयोर्कस्थित विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो । त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको संगठन अलकायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो ।
सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्यो । अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबानहरू परास्त भए ।
अलकायदालाई आश्रय
विश्वकै ठूलामध्ये एउटा मानवखोजी अभियानबीच समूहका तत्कालीन नेता मुल्लाह मोहम्मद ओमार र ओसामा बिन लादेनसहित केही उच्च नेताहरू उम्किन सफल भएको बताइन्छ । तालिबानका कैयौँ वरिष्ठ नेताले पाकिस्तानको क्वेटा सहरमा आश्रय लिए जहाँबाट उनीहरूले सो समूहलाई मार्गनिर्देशित गरे । तर ‘क्वेटा सुरा’को अस्तित्वलाई इस्लामाबादले अस्वीकार ग-यो । ठूलो संख्यामा विदेशी फौजको उपस्थितिबीच तालिबानले अवस्था सुदृढ पार्दै गयो र आफ्नो प्रभावलाई क्रमिक रूपमा विस्तार गर्दै लग्यो ।

सन् २०१२ को सेप्टेम्बरमा उनीहरूले काबुलमा उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको एउटा शिविरमा कारबाही गर्नुका साथै अन्य थुप्रै आक्रमण गरे । तालिबान समूहले कतारमा कार्यालय खोल्ने योजना घोषणा गरेपछि सन् २०१३ मा शान्ति वार्ताको आशा पलायो । तर सबै पक्षबीच अविश्वासको वातावरण कायमै रह्यो र हिंसाले निरन्तरता पाइरह्यो । सन् २०१५ को अगस्टमा तालिबान समूहले मुल्लाह ओमारको मृत्यु भएको कुरा दुई वर्षभन्दा बढी समय लुकाएको स्वीकार गर्योे । अस्वस्थताका कारण पाकिस्तानस्थित एउटा अस्पतालमा उनको मृत्यु भएको बताइन्छ । त्यसको अर्काे महिना तालिबानले आन्तरिक किचलोलाई पाखा लगाउँदै समूहका नयाँ नेता मुल्लाह मन्सुरलाई स्वीकारेको बतायो ।
मुल्लाह मन्सुर मुल्लाह ओमारका सहायक थिए । लगभग सोही समयमा तालिबानले सन् २००१ को पराजयपछि पहिलो पटक एउटा प्रान्तीय राजधानीमाथि नियन्त्रण कायम ग¥योे । त्यो थियो रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको कुन्दुज सहर । मुल्लाह मन्सुर सन् २०१६ को मे महिनामा एउटा अमेरिकी ड्रोन हमलामा मारिए । त्यसपछि समूहका नेता मौल्वी हिबातुल्लाह अखुन्दजादा भए ।
फिर्तीको दिनगन्ती
फेब्रुअरी २०२० को अमेरिका (तालिबान शान्ति सम्झौतापश्चात् तालिबान समूहले आक्रमणको रणनीति फेरेको देखिन्छ । उनीहरूले सहर तथा सैनिक संरचनाहरूमा जटिल आक्रमण गर्नुभन्दा लक्षित हमला गर्न थालेको देखिन्छ जसले सर्वसाधारण नागरिकलाई आतंकित बनाएको छ । लडाकुहरूले पत्रकार, न्यायाधीश, शान्ति अभियानकर्मी र शक्तिमा रहेका महिलालाई निसाना बनाउने गरेका छन् ।
त्यसले तालिबानहरूले आफ्नो अतिवादी सिद्धान्त नभई रणनीति मात्रै परिवर्तन गरेको देखाउँछ । अन्तर्राष्ट्रिय समर्थनबिना सरकारको कमजोर अवस्थालाई लिएर अफगान अधिकारीहरूको गम्भीर चिन्ताबीच अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा अमेरिकी फौजको फिर्ती प्रक्रिया टुंग्याउने घोषणा गत एप्रिलमा गरेका थिए । त्यो बेला विश्व व्यापार संगठनमाथि हमला भएको दुई दशक पूरा हुनेछ ।
राष्ट्रपति घानीले देश छाडे
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिबान समूहले काबुललाई नियन्त्रण लिनुपूर्व नै उनले अफगानिस्तान छाडेको बीबीसीले जनाएको छ । राष्ट्रपति घानी देश छाडेर ताजकिस्तानतर्फ गएको बताइएको छ । तालिबानले अफगानिस्तानका विभिन्न सहरहरूमा कब्जा जमाएका छन् ।
घानी कहाँ छन् ?
तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।रसियन राजदूतावासले राष्ट्रपति घानीले चारवटा कार र एउटा हेलिकोप्टरभरि पैसा बोकेर अफगानिस्तान छाडेको बताएको छ।रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकोप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी छिट्टै अमेरिका जाने तयारीमा छन्।
तालिबानको तयारी यस्तो
अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरूले कब्जामा लिएका छन् । उनीहरू आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरूले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोडेको बताइएको छ । उनी देश छोडेर कहाँ गएका हुन् भन्ने विषयमा केही बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन । तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गरेका हुन् ।
अफगानिस्तानका राजधानीतर्फ तालिबानी विद्रोहीहरूले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्ण रूपमा तालिबानीहरूलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका हुन् । तर त्यसअगावै राष्ट्रपति घानीले देश छोडेको बताइएको छ । आइतबार राति नै तालिबानीहरू काबुलस्थित राष्ट्रपति निवासमा प्रवेश गरेका छन् । उनीहरूले आइतबार राति राष्ट्रपति कार्यालय र निवास कब्जामा लिएको जानकारी गराएका छन् ।

आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरूबीच सुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ । सो वार्तामा तालिबानीहरूलाई वैधानिकरूपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । उता तालिबानीहरूले भने अब छिट्टै अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरूले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् ।
तालिबानहरूले आफ्ना लडाकूहरूलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनीहरू काबुल आएका हुन् । यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कर्फ्यु आदेश जारी गरिएको बताइएको छ । आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् । त्यसैगरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफैँ पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरूले भने कसैसँग बदला नलिने भन्दै आफूहरूसँग नडराउन भनिरहेका छन् ।
काबुल विमानस्थलमा गोली चल्यो
अफगानिस्तानको काबुल विमानस्थलामा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । विमानस्थलमा गोलाबारी कसले गर्यो भन्नेबारे केही नखुलाइएको बीबीसीले जनाएको छ । विमानस्थलमा धेरै भीड भएपछि यसअघि अमेरिकी सेनाले पटक पटक हवाइ फायर गरेका समाचारहरू बाहिरिएका थिए । आफ्ना नागरिकहरूको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ । राजधानी सहर काबुल तालिबानीहरूले कब्जा गरेपछि त्यहाँका राष्ट्रपतिले आइतबार नै देश छाडेका छन् ।
अफगानिस्तानको दुखान्त : मनै दुखाउने तस्बिर र भिडियोहरु सार्वजनिक
तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै देश छाड्न राजधानी काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको संख्यामा मानिसहरुको भीड लागेको छ । धावनमागर्मा गुडिरहेको विमानको अगाडि पछाडि उनीहरु दौडिरहेको भिडियोमा देख्न सकिन्छ ।केही मानिसहरु विमानमा झुण्डिएको दृश्यहरु पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।सोमबार नै उडिरहेको विमानबाट दुई जना मानिसहरु बाहिरिएका छन् । भने विभिन्न ठाउँहरुमा मानिसहरुको पीडादायक तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ । आइतबार साँझ राष्ट्रपति अशरफ घानी देश छाडेपछि त्यहाँका हजारौ मानिसहरु देश छाडेर बाहिरिने क्रम बढेको हो ।
उडिरहेको बिमानबाट तीन जना खसिरहेको कारुणिक दृश्य पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।
तस्वीरहरु
अफगानिस्तानमा भएका नेपाली नागरिकबारे चिन्ता
सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । अतिवादी समूह तालिबानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिकहरूको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउने काममा गम्भीर भइदिन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यहाँ भएका नेपाली नागरिकहरूलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउन सरकार जिम्मेवार बन्नुपर्ने आजको आवश्यकता हो ।
लेखाजोखा नभए पनि अफगानिस्तानमा ठूलो संख्यामा नेपालीहरू रहेको बताइएको छ । ती नागरिकहरूको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितता गर्न सरकार गम्भीरतापूर्वक लाग्न उनीहरूले सुझाएका हुन् । द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकारले ढिला गर्न नहुने सांसदको माग छ । नेपाली नागरिकहरूले अर्काे एजेन्सीसँग काम गरिहरेका हुनाले नयाँ आइरहेको शक्तिहरूले उनीहरूलाई झनै मन नपराउने अवस्था रहेका कारण पनि सरकारले नेपाली नागरिकहरूको उद्धारमा ढिलाइ गर्न नहुने परराष्ट्रविद् बताउँछन् । अन्य देशका नागरिकलाई धमाधम आ-आफ्ना देश फिर्तीको काम भइरहँदा नेपाल सरकारले पनि यथासक्य उद्धार गर्नुपर्ने उनीहरूको भनाइ छ ।
सरकारको निर्देशन
सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । विद्रोही तालिबाानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूको ज्यान जोखिममा परेको छ ।
त्यस घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रूपमा कार्य अघि बढाउन निर्देशन दिने निर्णय भएको छ ।’
सरकारले बनायो संयन्त्र
अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्थाबारे अध्ययन गर्न सरकारले संयन्त्र बनाएको छ । आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको हो । उक्त संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटनलगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहेका छन् ।
यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले जानकारी दिए । त्यस्तै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरूलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए । औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरूसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको सचिव पौडेलले बताए ।
नेपालीलाई सम्पर्कमा आउन आग्रह
अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको हो । परराष्ट्रले अफगानिस्तानमा रहेका नेपाली नागरिकको बिवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको पनि विज्ञप्तिमा जनाएको छ ।
नेपाली नागरिकको उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ । परराष्ट्रले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू पनि सार्वजनिक गरेको छ । उद्धारका लागि ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।
१३४ जना नेपाली सरकारको सम्पर्कमा
अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हिजो साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेको थियो ।
परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहेका छन् ।
अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूका उद्धारका हुने प्रवक्ता लम्सालले जानकारी दिए। उनले संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापानलगायत देशलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरिएको बताए ।
संयुक्त राष्ट्रसङ्घलाई फोन र पत्रमार्फत पनि नेपालीको उद्धारका लागि अनुरोध गरिएको प्रवक्ता लम्सालले उल्लेख गरे । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आइतबार अन्तर मन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो ।
उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ । यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल गरिरहेको छ ।
अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ ।
त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ ।
यस्तै, कार्यदलको आजका बैठकले तोकिएका फोन नम्बरमा आफ्नो विवरण टिपाउन सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध गरेको छ । अफगानिस्तानमा कार्यरत नेपालीले सामाजिक सञ्जालको प्रयोग गरेर आपसमा सुरक्षास्थिति तथा उद्धारसम्बन्धी सूचना आदानप्रदान गर्ने र सार्वजनिक भएका नम्बरमार्फत जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।
उद्धारको प्रक्रिया सुरु भई स्वदेश आउने क्रममा रहेका नेपालीको नेपाल आगमनपश्चात् गर्ने कोभिड–१९ को परीक्षण तथा क्वारेन्टिनलगायत कार्यको सहजताका लागि आवश्यक समन्वय गरी व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले सरकारका विभिन्न निकायको पदाधिकारी सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीको उद्धार सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए । काबुलबाट आइतबारदेखि नै त्यहाँ रहेको नेपालीको सुरक्षित घर फिर्ती प्रक्रिया क्रमशः सुरु भइसकेको उल्लेख गर्दै परराष्ट्रले त्यसका लागि कूटनीतिक पहलसमेत भइरहेको स्पष्ट पारेको छ ।
अफगानिस्तानमा रहेका नेपालीको क्रमिक रुपमा स्वदेश आवागमन एक/दुई दिनभित्रै सुरु हुनेछ स्पष्ट पारेको छ । त्यहाँ रहेका नेपाली र उनीहरूको रोजगारदातासँग सार्वजनिक गरिएका टेलिफोन नम्बर, इमेलमार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयाँदिल्लीस्थित नेपाली दूतावास नियमित सम्पर्कमा रहेको बताएको छ ।
विवरणहरूमा जनाइएअनुसार केही नेपालीलाई रोजगारदाताले नै उद्धार गरेर दोहा पु¥याएका छन् । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा नेपाली पठाएका म्यानपावर व्यवसायीमार्फत पनि उद्धारको पहल गरिरहेको छ । व्यवसायीले ३३० नेपाली दोहा पुगेको जानकारी दिएको विभागले जनाएको छ । केही नेपाली भने काबुलस्थित विमानस्थलमा रहेका छन् ।
अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने
अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन् ।
तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, “अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिवानलाई उपलब्ध गराइने छैन ।”
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ ।
संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन ।
तालिबानको त्रास : सुरक्षित स्थान खोज्दै देश छोड्दा विमानबाट खसे दुई यात्रु
राजधानी शहर काबुल तालिवानी लडाकुहरुले कब्जा गरेपछि अफगानिस्तान छोडेर बाहिरिने अफगानी नागरिकहरुको संख्या बढिरहेको छ ।देश छोडेर बाहिरिनेहरुको संख्या बढेसँगै काबुल विमानस्थलमा मानिसहरुको बाक्लो भीड देखिन्छ । भने बाहिरिएका भिडियोहरुमा देखाइए अनुसार विमान चढ्नका लागि मानिसहरुको तछाडमछाड देखिएको छ ।यसैक्रममा काबुल विमानस्थलबाट उडेको विमानबाट २ जना मानिसहरु खसेका छन् । त्यहाँको आस्भा न्यूज एजेन्सीले जारी गरेको भिडियोमा देखाइए अनुसार विमानबाट दुई जना मानिसहरु खसेको देखाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?




























प्रतिक्रिया