नक्कली स्मार्ट लाइसेन्ससहित दुई जना पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने ४६ वर्षीय प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका– ६ घर भई हाल मुलपानी बस्ने ३१ वर्षीया कल्पना दाहाल रहेका छन् ।

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने विशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वयरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित राइजिङ एक्सपोर्ट ड्राइभिङ सेन्टरबाट पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

तुलाधरले आफ्नै नाममा रहेको ०१००–९८५७६९५३ नम्भर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङमा दिएका थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो ।

दाहालको साथबाट गीता कुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र नं. ०१-०६-००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी वृत्त, सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?