बिचौलिया हाबी हुँदा दुई महिनामै झण्डै दोब्बरले बढ्यो अण्डाको भाउ : सरकार भने बेखबर

पछिल्लो समय कुखुराको अण्डाको भाउ हालसम्मकै उच्च रूपले वृद्धि भएको छ । बिचौलिया हाबी हुँदा अण्डाको भाउ उच्च रूपले बढेको हो ।

उत्पादनमा आएको कमी तथा माग उच्च हुँदा पनि अण्डको भाउ बढ्न मदत पुगेको छ । झण्डै एक महिनाअघि खुद्रा बजारमा १२ रुपैयाँमा बिक्री भएको प्रतिगोटा अण्डाको मूल्य अहिले २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४६० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । सवारीसाधन सहज उपलब्ध भएको ठाउँमा प्रतिगोटा १६ रुपैयाँसम्म अण्डाको खरिदबिक्री हुनपर्ने भए पनि बजारमा भने २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

कोरोनाका कारण हरेक दिन अण्डाको प्रयोग गर्ने उपभोक्ता बढेकाले अण्डाको माग उच्च रहेको छ । त्यसैले अण्डाको मूल्य वृद्धि भएको अण्डा उत्पादक संघले जनाएको छ । ‘कोरानाका कारण पौष्टिक आहारका लागि अण्डा अनिवार्य गरिएकाले माग बढेको छ’, संघका अध्यक्ष शिवराम केसीले भने ।

संघले उपभोक्ताका लागि १६ रुपैयाँमा नै अण्डा उपलब्ध गराएको भए पनि खुद्रा पसलले बढाएको भन्दै आफूहरू त्यसमा जिम्मेवार नभएको अध्यक्ष केसीको भनाइ छ । ‘हामीले उपभोक्ताई १६ रुपैयाँमा नै उपलब्ध गराएका छौँ’, उनले भने ।
बजार मूल्य बढी हुँदा अनुगमन गर्ने र कारबाही गर्ने काम सरकारको भएकाले सरकारले नै यसबारेमा अनुगमन गर्नुपर्नेमा अध्यक्ष केसीको जोड थियो ।

अर्को पक्ष यतिबेला कोरोनाका कारण अधिकांश किसानले कुखुरा हालेका छैनन् । जसका कारण उत्पादनमा पनि कमी आएको छ । अहिले किसानले ठूलो अण्डा प्रतिक्रेट ३ सय ९० रुपैयाँ र मध्यम खालको अण्डाको ३ सय ६५ रुपैयाँ पाइरहेका छन् । किसानले अण्डाको राम्रो मूल्य पाएको अहिले हो भन्दै आफूहरूले उपभोक्तालाई थेग्नै नसक्ने गरी मूल्य नबढाएको दाबी अध्यक्ष केसीको छ ।

कोरोना संक्रमण र महँगीमा मारमा उपभोक्ता

बजारमा एक्कासि अण्डाको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । १६ रुपैयाँमा पाउने अण्डालाई ४ रुपैयाँ बढी तिरेर किन्न बाध्य छन् । कोरोना संक्रमणका कारण आर्थिक मन्दी खेपिरहेका आम उपभोक्ताले दैनिक उपभोग्य वस्तुको चर्काे मूल्यको समेत भार खेप्नुपरेको छ ।

के गर्दै छन् उपभोक्तावादी अधिकारकर्मीहरू ?

पछिल्लो समय अण्डाको मूल्यमा चर्काे वृद्धि भएको भन्दै सरकारले अनुगमन गरी कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । केही व्यवसायीहरूको मिलेमतोमा कार्टेलिङ गरी अण्डाको मूल्य तोकिएको उनले बताए । ‘यो व्यवसायीहरूको कार्टेलिङ हो, सरकारले यथाशीघ्र अनुगमन गर्नुपर्छ’, अध्यक्ष तिमल्सिनाले भने ।

सरकारको फितलो कानुनी व्यवस्था र अनुगमनको फाइदा उठाउँदै व्यवसायीहरूले मनोमानी ढंगले मूल्य वृद्धि गरेको उनको ठहर छ । साउनको महिना धार्मिक दृष्टिले महत्वपूर्ण भएकाले मासुको खपत पनि कम हुन्छ । यस्तो समयमा कार्टेलिङ गरेर मूल्य वृद्धि गर्नु गैरकानुनी भएको तिमल्सिनाको दाबी छ ।

अहिले बजारमा दानाको मूल्य पनि बढेको छैन । तर कुखुरा, दाना, चल्ला तथा अण्डा उत्पादक संस्था र बजार मूल्य तोक्ने समूहले सरकारबाटै संरक्षण पाएकाले मनपरी मूल्य वृद्धि गरेको उनको आरोप छ । आफूसँग भएको अण्डा कोल्ड स्टोरमा लुकाएर बजारमा अभाव सिर्जना गरेर मूल्य बढाउने काममा व्यवसायी लागेको भन्दै शीघ्र कारबाही गर्नुपर्ने तिमल्सिनाको माग छ ।

सरकारलाई थाहै छैन

बजारमा उपभोग्य वस्तुको मूल्य आकाशिँदा पनि सरकारलाई भने अत्तोपत्तो नै छैन । सरकारको अनुगमन र कारबाही फितलो भएका कारण उद्योगी तथा व्यवसायीहरूले मनपरी मूल्य बढाउने र कालोबजारी गर्ने गरिरहेका छन् । तर सरकारलाई भने वास्ता नै छैन । बजारमा चरम कालोबजारी र मूल्य वृद्धि भएर त्यसको विरोधमा आम उपभोक्ता उत्रिएपछि मात्रै सरकारले अनुगमनको नाटक गर्दै आएको छ ।

यसको पछिल्लो उदाहरणका रूपमा अण्डाको भाउलाई लिन सकिन्छ । अहिले बजारमा अण्डाको भाउ दोब्बरले वृद्धि भएको छ । तर सरकारलाई भने जानकारी नै छैन । ‘यस विषयमा हामीलाई ठ्याक्कै जानकारी छैन, हामी बुझ्दै छौँ’ उद्योग आपूर्ति तथा वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईँले भने ।

खुद्रा पसलले मूल्य बढाएको भन्दै खरो रूपमा कारबाहीमा उत्रिने उनले बताए । साथै अण्डको मूल्य १६ रुपैयाँभन्दा बढी लिएको पाइएमा विभागको सम्पर्क नम्बर ९८४१३८२३०२ मा सम्पर्क गर्न समेत प्रवक्ता सेढाईँले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?