१. १२ हजार १ सय ६ कोरोना परीक्षणमा २ हजार २ सय १२ जनामा संक्रमण पुष्टि, १ हजार ८ सय ६७ जना संक्रमणमुक्त, ३३ जनाको मृत्यु ,सक्रिय संक्रमित ३९ हजार २ सय ९८ पुग्यो ।
२. विभिन्न बहानामा पटक–पटक सारिएको नेपाली कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने भनिए पनि वैधानिकतामाथि प्रश्न, भदौ १८ बाट वडा अधिवेशन सुरु गर्दैमा वैधानिकता जोगाउन मुस्किल हुने कानुनविद्को तर्क ।
३. नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पूर्ण बैठकमा एमसीसीदेखि पार्टीको संरचनाप्रति असन्तुष्टि व्यक्त, पार्टीको संरचना संघीयस्वरूपमा जान नसकेको भन्दै चर्को आलोचना ।
४. अफगानिस्तानमा अतिवादी समूह तालिबानले तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिक तत्काल फिर्ता गराउन सत्ता र प्रतिपक्ष नेताहरुको माग, नेपालीहरुको जीवनरक्षा गर्न सरकारसँग आग्रह ।
५. नेपालीहरूको उद्धारका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय, अफगानिस्तानमा रहेका नेपालीबारे अध्ययन गर्न सरकारले बनायो संयन्त्र ।
६. भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधाका लागि पहल गर्न एमालेको माग, अविलम्ब कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण ।
७. नेपाली कांग्रेसले म्याद सकिएका ९ वटा भातृ संस्थाहरुको म्याद ६ महिना थप्यो, महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै वरिष्ठ नेता पौडेलद्वारा आफूनिकटका नेताहरुसँग भेटघाट तीव्र ।
८. भारतबाट खरिद गरी ल्याइएको रेल चलाउन भारत सरकारको ताकेका, नेपाल रेल्वे कम्पनी र भारतीय कोनकण रेल्वे कार्पेरेसनबीच रेल चलाउने सम्झौताअनुसार अग्रीम रकम पठाउन ढिलाइ ।
९. पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि काभ्रेको जिल्ला प्रशासन र मालपोत कार्यालयमा बारअनुसार सेवा प्रवाह हुने, अनिवार्य मास्क प्रयोग र स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको अनुरोध ।
१०. निषेधाज्ञा केही खुकुलो भएसँगै घटेको सेयर बजारमा ऐतिहासिक रेकर्ड, आइतबार एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको सेयर कारोबार ।
११. अफगानिस्तानमा तालिबानी लडाकुहरुको दबदबा बढेपछि राष्ट्रपतिले बोलाए आपतकालीन बैठक, नागरिक त्रासमा, तालिबानी काबुल पुग्यो, रेकर्डेड सन्देशमार्फत शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने गृहमन्त्रीको भनाइ, अमेरिकाद्वारा दूतावासका कर्मचारीको उद्धार ।
१२. इरानमा कोरोना संक्रमणका कारण हरेक दुई मिनेटमा एक जनाको मृत्यु, देशका सबै अस्पताल भरिए, एकैदिन भेटिने नयाँ बिरामीको आँकडा ४० हजार नाघेपछि त्रास फैलियो ।
१३. पाकिस्तानमा मिनी ट्रकमा भएको ग्रेनेड हमलामा वैवाहिक समारोहमा गएर फर्कँदै गरेका एकै परिवारका १२ जनाको मृत्यु, दर्जनौँ मानिसहरु घाइते ।
१४. हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ३ सय ४ जनाको मृत्यु, हजारौँ घाइते, देशको पश्चिमी भागका अधिकांश संरचनामा क्षति, सुनामी आउनसक्ने चेतावनी ।
१५. नेपाली टेलिभिजनमार्फत पहिलो पटक डिसहोमले ‘ला लिगा’ प्रसारण गर्दै, सिजन टिकट किनेर हेर्न सकिने, एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजारको सिजन टिकट खरिद गर्नुपर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया