सेयर कारोबार प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको उपकार्यकारी निर्देशकद्वारा बचाउ

लोकपथ
77
Shares

काठमाडौं । अध्यक्ष भीष्मराज ढुंगानाले छोरीमार्फत गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबारको नेपाल धितोपत्र बोर्डले बचाउ गरेको छ ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले विवाहित छोरीले गरेको सो सेयर कारोबारमा अध्यक्ष ढुंगानाको संलग्नता हुने कुनै पनि कानुनी प्रावधान नरहेको दाबी गरेका छन् ।

बैठकमा समितिका सदस्यहरुले परिवारका सदस्यहरुलाई सेयर कारोबारमा संलग्न गराएर सेयर बजार कब्जा गर्न खोजेको भन्दै अध्यक्ष ढुंगानाप्रति आक्रोश व्यक्त गरेका थिए ।

बोर्डको तर्फबाट त्यसको जवाफ दिने क्रममा उपकार्यकारी निर्देशक अधिकारीले विवाहित छोरी परिवारभित्र पर्ने व्यवस्था धितोपत्रसम्बन्धी कुनै पनि ऐनमा व्यवस्था नभएकाले अध्यक्ष ढुंगानालाई सो विषयमा विवादमा तान्न नमिल्ने तर्क गरे ।

उनले भने, ‘धितोपत्रसम्बन्धी ऐनमा परिवार भन्नाले विवाहित छोरी नपर्ने स्पष्ट उल्लेख गरिएको छ । र विवाहित छोरीले सेयर खरिदबिक्री गर्ने निजी अधिकार भएकाले त्यसमा उनको बुबाको संलग्नता नहुने स्पष्ट देखिएको छ । हामीले अर्थ मन्त्रालयलाई पनि सोही प्रावधान खुलाएर स्पष्टीकरण दिएका छौं ।’

सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुनविपरीत छोरीको नाममा १० हजार कित्ता सेयर जारीको अनुमति पाउनुभन्दा करिब ३ साताअघि खरिद गरेको आरोप लागेको थियो । सोही विषयमा अर्थ समितिले बोर्डका पदाधिकारीलाई बोलाएर स्पष्टीकरण लिएको हो ।

बैठकमा बोल्दै समितिका सभापति कृष्णप्रसाद दाहालले परिवारका सदस्यहरुलाई पुँजी बजारमा ल्याउने काम नियमनकारी निकाय आफैँले गरेको भन्दै आपत्ति जनाएका थिए । उनले अन्य क्षेत्रमा लगानी नगरेर परिवारकै सदस्य भएको क्षेत्रमा लगानी बढाउनुको कारण के हो ? भनी बोर्डका सदस्यहरुलाई प्रश्न पनि गरे ।

यता, बोर्ड अध्यक्ष ढुंगानाले भने विवाहित छोरीको सेयर कारोबारलाई बन्देज लगाउन मिल्ने कानुनी प्रबन्ध नभएको जवाफ दिए । उनले विवाहित छोरी परिवारका सदस्य नरहने धितोपत्रसम्बन्धी ऐनमा स्पष्ट व्यवस्था भएकाले छोरीको सेयर कारोबारमा आफूलाई मुछ्न नमिल्ने तर्क समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?