काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले श्रमीकहरुको कामको सम्मान र सामाजिक सुरक्षा योजना कार्यान्वयनको माग राख्दैे आन्दोलन गर्ने घोषणा गरेको छ ।
आइतवार पत्रकार सम्मेलन मार्फत् जेटीयूसीसीले श्रमीकहरुको कामको सम्मान र सामाजिक सुरक्षा योजना कार्यान्वयनको लागि नयाँ स्वरुपको आन्दोलन शुरु गर्ने घोषणा गरेको हो । जेटीयूसीसीले हालै सर्वोच्च अदालतको तर्फबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन सम्बन्धमा जारी भएको अन्तरिम आदेशले आश्चर्यचकित बनाएको पनि बताएको छ ।
उसले सर्वाेच्चको आदेशले देशका लाखौँ श्रमीकहरुमा दीर्घकालीन प्रभाव पर्ने निश्चित रहेकोले सो आदेशलाई पूर्ण इजलासबाट श्रमीक मैत्री र कानून सम्मत न्याय निरुपण हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताएको छ । आउँदो भाद्र १ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर र भाद्र ४ गते सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई भेटेर जेटीयूसीसीले यस सम्बन्धी ज्ञापन पत्र पेश गर्ने निर्णय गरेको जेटीयूसीसीका महासचिव इन्द्रदेव मिश्रले बताए ।
त्यसैगरी श्रम रोजगार तथा सामाजिक मन्त्रालय र अर्थमन्त्रालयमा छलफल गर्ने साथै भाद्र ४ गते सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएका र सूचिकरण भएर पनि योगदान रकम जम्मा नगरेका ठूला प्रतिष्ठानको अगाडि विरोध प्रदर्शन गरिने पनि मिश्रले जानकारी दिए ।
जेटीयूसीसीले भदौ ५ गते सबै प्रदेशमा एकैपटक नारा जुलुस सहित प्रदर्शन गर्ने पनि निर्णय गरेको छ । महासचिव मिश्रले सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा श्रमिकले खाईपाई आएको सुविधा कटौति हुन्छ भन्ने भ्रम फिँजाइएको बताए ।
जेटीयुसीसीले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार कोषमा सूचिकृत नै नहुने र श्रमिकलाई पनि सूचिकृत नगराउने, ऐन बमोजिम श्रमीकको योगदान कट्टा गर्ने तर सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचिकृत नगर्ने लगायतका स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै रोजगारदातालाई समयमै सच्चिन चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया