मन्त्रीमण्डल विस्तारमा अझै ढिला गर्ने सुविधा छ देउवासँग ? प्रचण्डको आशय के ?

लोकपथ
624
Shares

काठमाडौं – आफ्नो पाँचौँ कार्यकाल सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसँगै चार मन्त्री नियुक्त गरे । तर, प्रधानमन्त्री बनेको ठ्याक्कै एक महिना बित्यो । गठबन्धन सरकारमा मन्त्रीहरुको भागबण्डा र नेकपा एमालेको विवाद निरुपण नभएका कारण देउवा एक महिनादेखि उल्झनमा परेका छन्। त्यतिमात्रै होइन मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै उनकै पार्टीका नेताहरुले संसदमै आलोचना समेत गरेका छन् ।

प्रचण्डको संकेत के ? 

शनिबार शेरबहादुर देउवाको सरकार अल्पमतमा पर्न सक्छ भनेर माओवादी केन्द्रका अध्यक्ष एवम् गठबन्धन सरकारका नेता पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले मन्त्रीमण्डलले पूर्णता पाउने विषय अझै पेचिलो बनेको संकेत गरेको छ । प्रचण्डले देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्नसक्ने खतरा रहिरहेको बताएका थिए।

शनिबारदेखि काठमाडौंको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले यो सरकार टिकिरहनुको आधार र एकमात्रै कारण माधव नेपालको अडान रहेको समेत खुलाएका थिए । आफ्नै पार्टीको बलियो मतसहितको सरकारलाई सत्ताच्युत गर्न महत्वपूर्ण भूमिका खेलेका माधव नेपाल गठबन्धन सरकारमा दह्रोगरी अडिदिएको हुनाले बहुमत पुगेको उनको आशय थियो। उनले यो सरकार अल्पमतमा पर्नसक्ने खतराको घण्टी बजिराखेको, प्रतिगमनको खतरा टरिनसकेको भन्दै जसपाले वैधानिकता पाएकाले २० सांसद, कांग्रेस र आफूहरुसँग रहेका १११ जना सांसद जोड्दा १३१ मात्र पुग्ने गन्ती गर्दै हौसिन जरुरी नभएको बताएका थिए।

राजनीतिक जोडघटाउमा माहिर मानिने प्रचण्डको यो अभिव्यक्तिले माधव नेपालको मनस्थितिबारे केही संकेत बाहिरिएको सहजै अनुमान गर्न सकिन्छ । यसको कारण के हो भने यदि माधव कुमार नेपालले गठबन्धन सरकारबाट हात झिके भने वा सोझो अर्थमा भन्दा उनको पार्टी नेकपा एमालेमा एकता भयो भने देउवाको सरकार फेरि अल्पमतमा पर्छ भन्ने नै हो ।

माधव नेपालले अड्काए हलो ! 

लामो समयदेखि चर्किएको नेकपा एमालेको विवाद ओली पदच्युत भइसक्दा समेत साम्य हुन सकेको छैन । ओली र नेपालको झगडा मिलाउन दोस्रो तहका नेताहरु लागिरहेको भए पनि विवाद निरुपणको कुनै शुभसंकेत छैन । यसो हुँदा एमालेको विवाद नमिलेसम्म देउवालाई मन्त्रिपरिषद् विस्तार सकसपूर्ण भएको हो ।

यता गठबन्धनमा हाइहाइ पाइरहेका नेता नेपालले एमालेको आन्तरिक पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको बताइरहेका छन् भने ओली र उनी पक्षीयले नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको भनिरहेका छन् । यस्तो सन्दर्भमा एमाले एकताका सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि नहट्ने नेपालको चेतावनी छ ।

एमाले एकतामा जोड दिएको बताउने उनी गठबन्धन सरकारबाट अलग्गीएका छैनन् । गठबन्धन सरकारको शक्ति देखाएर आफ्नै पार्टीका अध्यक्ष ओलीलाई चुनौती दिइरहेका नेपालले एकातिर देउवालाई मन्त्रिपरिषद् विस्तारमा थप अल्मलाइरहेका छन् भने अर्कोतिर ओलीसँग बार्गेनिङ गरिरहेका छन् । उनले गठबन्धका नेताको हैसियतामा गरेको भाषणमा एमालेमा सम्मानजनक एकतालाई जोड दिइरहेकाे बताएका छन् ।

आफू लुरुक्क परेर एमालेमा नजाने उनको अडान छ । शनिबार नै काठमाडौँमा आयोजित नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्व घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले आफूहरू तत्कालै सरकारमा नजाने भनेका छन् । केही नेताले सरकारमा जाने कुरा गरिरहे पनि मन्त्री ठूलो विषय नभएको र विचार नै महत्वपूर्ण र ठूलो कुरा भएको उनको आशय थियो ।

त्यति मात्रै होइन उनले छुट्टै दल भएको भए सरकारमा मन्त्री पठाउन कुनै समस्या नहुने पनि बताए । पार्टी एकताको लागि प्रयास जारी रहेको संकेत गर्दै उनले अहिले तत्कालै सरकारमा जाने सम्भावना नरहेको पनि बताए । तर उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै मन्त्रिपरिषद् विस्तार गर्न नरोकेको बताएका थिए।

यद्यपि सरकारमा सहभागि गठबन्धनका नेताहरुले लोकपथलाई दिएको जानकारीअनुसार देउवालाई अघि बढ्न नेपाल कारक रहेका छन् । यसकारण जसपाका नेताहरु समेत देउवाले नेपाललाई कुरिरहेको भन्दै चिढिरहेका छन् । जसपाका एक नेता भन्छन्, प्रचण्ड र देउवा दुवै नेपाललाई गठबन्धमा नै राखिरहन चाहन्छन् । यसो गर्दा देउवाले पूर्ण कार्यकाल आरामले सरकार चलाउन पाउने उनीहरुको चाहना छ ।

भन्ने एउटा गर्ने अर्को ? 

अझै पनि आफूहरू एकताको पक्षमा रहेको बताएका एमाले नेता नेपाल र अध्यक्ष ओलीबीच पानी बाराबारको स्थिति छ । यी दुईलाई मिलाउन दुवै पक्षीय नेताहरु सक्रिय छन् । तर विवादको गाँठो फुक्न सकेको छैन । ओली र नेपाल नमिलेसम्म पार्टीको हालत लथालिंग हुने अनुमानसहित उनीहरु जोडबल गरिरहेका छन् । तर नतिजा शून्यप्राय छ । यी दुई नेताबीचको टसल नै यसको कारण हो । किनकि यी दुवै नेताहरु एकताको भाषा बोले पनि एकअर्काविरुद्ध आगो ओकल्छन् ।

नेपालको आरोप छ, ओली एमालेको विभाजन चाहिरहेका छन् । उनको यो अभिव्यक्तिले पनि के संकेत गर्छ भने ओलीलले जुनकुनै बेला घात गर्नसक्ने भय नेता नेपालमा हाबी छ । त्यसैले उनी निश्चिन्त नभई गठबन्धनबाट बाहिरिन नचाहेका हुन्। नेपालको यहि संशय हल नहुँदासम्म देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नुपर्छ।

पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको बताउनु र विपक्षीलाई सरकारमा समर्थन गरिरहने दोहोरो चरित्रका कारण पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने उनको अडान छ।

नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको थिएन नि भन्ने हाम्रो प्रश्नमा माओवादी केन्द्रका एक नेता भन्छन्, माधव नेपालको कारण मन्त्रिपरषद् विस्तार हुन सकिरहेको छैन।

अपमान सहेर एकता नहुने, नेता वामदेव गौतमको जस्तो अपमान नसहने, सम्मानजनक एकता, समान हैसियतका दुई अध्यक्षजस्ता कुराहरु नेता नेपालले बारम्बार उठाउनुले उनी दुईमध्ये एकातिर आफूलाई सुरक्षित गर्न चाहेको प्रस्ट हुन्छ ।

कम्तीमा आगामी चुनावसम्म सँगै

शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्नसक्ने खतरा औँल्याएका प्रचण्डले गठबन्धन कायमै राखिने समेत बताएका छन् । परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् । माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको बताएका उनले सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुनुमा माओवादी पार्टीको कुनै दोष नरहेको दोहोर्‍याएका छन् ।

प्रधानमन्त्रीले नाम माग्नासाथ आफूहरुले एक चरण स्थायी कमिटीको बैठक राखेर मन्त्रीका नाम दिन सक्ने उनले बताए । उनको संकेत थियो, मन्त्रीमण्डल विस्तार हुन नसक्नुको कारण जसपाको आधिकारिकता विवाद र एमालेको अन्तरसंघर्ष नै हो । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी चुनावसम्म कायमै राख्ने पार्टीको नीति रहने उल्लेख छ । यद्यपि यसमा छलफल जारी छ ।

मन्त्रालय रित्तै देउवाको टाउकोमा अपजसको भारी

एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बीस प्रतिशत क्षमतामा काम गरिरहेका छन्। विपक्षी दलले मात्र होइन कांग्रेस नेताहरूले समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा सरकारको आलोचना गरेका छन्। गठबन्धन सरकार देउवाकै लागि समेत आत्मघाति हुने राजनीतिक विश्लेषण भइरहेका बेला सुरुवाति महिना उनको लागि सुखद रहेन सकेको छैन।

महामारीको बेला रित्तै स्वास्थ्य मन्त्रालय 

नेपालमा कोरोनाको महामारी बढिरहेको छ। दोस्रो लहरले पहिलो र दोस्रो लहरले आक्रान्त बनाएको नेपालमा केपी ओलीको सरकार बहिर्गमन भएसँगै रिक्त भएको  मन्त्रालयलमा स्वास्थ्यमन्त्री हालसम्म पनि चयन हुन सकेका छैनन्। बरु सर्वत्र आलोचनापछि गएको साउन ११ गते देउवाले स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरे। यसको पनि व्यापक विरोध भएको थियो। मुख्यत गठबन्धनको सरकारको भागबण्डा, माधव नेपाल पक्षको व्यवस्थापन गठबन्धनमा सामेल पार्टीभित्रैका आकांक्षी व्यवस्थापन र कांग्रेसको आन्तरिक किचलो मन्त्रिपरिषद् विस्तार ढिलो हुनुका कारक विषय हुन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा हाल कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री छन् भने प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका ऊर्जा र अर्थ गरी दुई मन्त्री छन्। कोरोना महामारीको पहिलो लहरमा पूर्वसावधानीमा चुकेको ओली सरकारले दोस्रो महामारीमा अक्सिजनको समेत सहज उपलब्धता गराउन सकेन । अब तेस्रो लहर सन्निकट रहेको अवस्थामा यो जिम्मेवारी देउवाको काँधमा छ । तर जिम्मेवार मन्त्रालय खाली राखेर देउवाले आफूमाथि त अपजस थोपार्ने काम गरिरहेका छन् नै, त्यसैमाथि जनताको स्वास्थ्यअधिकारमाथि समेत घात गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?