अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन राप्रपाको माग

लोकपथ
299
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तालिबानको कब्जामा रहेको अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन माग गरेको छ ।

तालिबानी विद्रोहीहरुको आक्रमण बढ्दै जाँदा अफगानिस्तान गृहयुद्दमा फस्ने संकेत गर्दै आफ्ना नागरिकहरुलाई सुरक्षित तबरले नेपाल फर्काउने व्यवस्था गर्न माग गरेको हो ।

आज बसेको राप्रपात्रयको बैठकले सोसहित अन्य विषयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षावारे राप्रपा चिन्तित रहेको छ । त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी बेलायतमा आन्दोलनरत ब्रिटिस गोर्खाहरुको समस्या समाधानका लागि पहल गर्न राप्रपाले माग गरेको छ । तत्कालिन नेपाल सरकार र ब्रिटिस सरकारबीच भएको सम्झौता अनुरुप सरकारले वार्ताका माध्यमबाट उनीहरुको माग कुटनीतिक तबरबाट पूरा गर्न राप्रपाको माग रहेको छ ।

‘तत्कालिन नेपाल सरकार र ब्रिटिश सरकारका बिचमा भएको सम्झौता अनुरुप बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको दुई सय बर्ष नाघि सकेको छ । तर, आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीहरु माथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य हुन सकेको छैन । ब्रिटिश गोर्खाका पुर्व सैनिकहरुले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएका छन् । विगतमा पनि ब्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ ।’ जारी विज्ञप्तिमा भनिएको छ( ‘यसै पृष्ठभूमीमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ । साथै, ति मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपा नेपाल सरकारको ध्यान आकर्षित गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?