माओवादी बैठक : एमसीसीदेखि पार्टीको संरचनाप्रति असन्तुष्टि

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पूर्ण बैठकमा एमसीसीदेखि पार्टीको संरचनाप्रति नेताहरुले असन्तुष्टि जनाएका छन् ।

बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सांसद सुदन किराँतीले पार्टीको संरचना संघीयस्वरूपमा जान नसकेको भन्दै असन्तुष्टी जनाएका हुन् ।

समूहगत धारणा राख्नेक्रममा भोजपुर इन्चार्जसमेत रहेका किराँतीले प्रदेश र स्थानीय तहलाई स्वायत्त अनि जिल्लालाई समन्वयको भूमिकाको व्यवस्था गर्नुपर्ने सुझाव समेत दिए।

८ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै किरातीले भने, ‘मुलुक संघीय स्वरूपमा गइसकेको छ । तर, मुलुक हाँक्ने पार्टी केन्द्रीकृत मानसिकतामा चल्ने हो भने पार्टी बलियो हुँदैन ।’

त्यस्तै बैठकमा सहभागी नेताहरुले अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसी राष्ट्रघाती भएको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न समेत नेताहरूले माग गरे।

विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरे ।

प्रचण्डको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै केन्द्रीय नेताहरूले एमसीसीबारे थप व्याख्या हुनुपर्ने माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?