कर्णालीमा ‘तपाईँको मास्क खै ?’ अभियान, अझै हुन सकेन कोरोना नियन्त्रण

RSS
70
Shares

कर्णाली । कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् ।

प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ ।

सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीँ कारबाही त कतै मास्क वितरण कार्यक्रम गरिए पनि कोरोना संक्रमण नियन्त्रण हुनसकेको छैन । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक काममा लाग्न निर्देशन दिए पनि कोही कसैले सावधानी नअपनाउँदा पछिल्लो एक सातामा संक्रमण झनै उकालो लागेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११५ जनामा कोरोना संक्र
मण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताललगायत प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार १३६ जनाको पीसीआर परीक्षण गर्दा ७० र एन्टिजेन विधिबाट २२१ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिए।

“कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका ३६, कालीकोटमा २५, रुकुमपश्चिमका १९, जुम्लाका १५, जाजरकोटका १२, दैलेखका पाँच र मुगुका दुई जना रहेका छन्”, निर्देशक डा खड्काले भन्नुभयो, “शनिबार ११५ थपिएसँगै कर्णालीमा ३१ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”

उनका अनुसार प्रदेशभर कोरोना सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या २९ हजार १०७ अर्थात् ९१ प्रतिशत पुगेको छ । हालसम्म कर्णालीमा एक लाख २४ हजार ५१९ जनाको आरटी पीसीआर र ४२ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९७७ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?