कोरोना संक्रमित बिमारीहरूसँग लड्दै एक साहसी नर्स अनिशा

लोकपथ
2.8k
Shares

कोरोना संक्रमणको भयावह दोस्रो लहर फैलिरहँदा धुलिखेल अस्पतालको कोभिड आईसीयू वार्डमा बसेर नर्स अनिशा न्यौपाने लगायत अस्पतालका स्वास्थकर्मीहरु बिरामीहरूलाई संक्रमणमुक्त गर्न खटिरहेका छन् ।

कोभिड संक्रमणको विमारी पहिलो पटक आपतकालीन अवस्थामा अस्पतालमा भर्ना हुन आउँदा अनिशा पनि फ्रन्टलाइनमै थिइन् । एक नवजात शिशुलाई जन्मदिएपछि संक्रमित देखिएकी आमा र उनको मृत्युले कोरोनाको पहिलो लहर आएको अवस्थमा नेपालभर संत्रास ल्याएको थियो भने धुलिखेल अस्पताल परिसरमा के भएको थियो त्यो कल्पनाभन्दा बाहिरको बिषय थियो । किनकि भरखरै आमा भएकी ती महिला कोरोना संक्रमित भएर नेपालमा मृत्यु भएकी पहिलो ब्यक्ति थिइन् ।

नेपालमा कोरोना संक्रमणको लहर आए देखिन् नै आईसीयू वार्डमा बसेर बिरामीहरुको सेवामा लागेकी अनिशाले पहिलो चरणको कोरोना संक्रमणको लहरमा आफूलाई सुरक्षित राख्न सफल भइन् । तर दोस्रो चरणको संक्रमणको लहरमा बिरामीहरुको सेवामा लाग्दा लाग्दै उनी स्वयं पनि संक्रमित हुन पुगिन् । कोरोना संक्रमणबाट मुक्त भएर पनि अझै उनी धुलिखेल अस्पतालको आईसीयू वार्डमै कोरोना संक्रमितहरूको उपचारमा संलग्न रहेकी छिन् ।

उनको अनुभवमा पहिलो चरणको कोरोना संक्रमणले दीर्घ रोग भएका वृद्धवृद्धाहरुमा बढी संक्रमण देखियो । दोस्रो चरणमा युवा पुस्ताहरु पनि संक्रमित भए । अहिले कोरोनाको संक्रमण बालबालिकाहरु पनि पर्न थालेका छन् । त्यसैले हामीले कोरोनालाई जति खेलाँची सम्झन्छौं यसले उत्तिकै आफूलाई भयावह बनाउँदै लगेको उनको अनुभव रहेको छ । ‘संक्रमणको स्तरअनुसार कसैलाई निको भयो होला कतिपय संक्रमणलाई जित्न नसकेर मृत्युवरण पनि गर्नुभयो । त्यसैले यसको संक्रमण कस्तो अवस्थामा हुन्छ भन्ने कुरा कसैलाई थाहा नभएको कारण यसवाट जोगिने हो भने आफूलाई अनुशासित बनाउनु नै सबैभन्दा राम्रो उपाय हो’, अनिशा भन्छिन् । अहिले बजार खोलेको कारण कोरोना संक्रमणको जोखिम कम भएको छैन । यस्तो बेला बढी भिडभाड हुनेहुनाले संक्रमणको जोखिम अझ बढ्ने छ । त्यसैले उनी आफ्नो अनुभवअनुसार सबैलाई अनुशासित हुन आग्रह समेत गर्छिन् ।

कोरोना संक्रमणको लहरमा नजिक बसेर आफूलाई जोखिममा राखेर बिरामीहरूको सेवामा लागेकै कारण हामीले ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ स्तम्भमा नर्स अनिशा न्यौपानेलाई प्रस्तुत गरेका छौं । उनीसंग ‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ का प्रस्तोता लेखमणि त्रित्रालले गरेको कुराकानीको भिडियो अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?