डेढ महिना नबित्दै भत्कियोे पर्खाल

RSS
154
Shares

केदार मगर/ खोटाङ
खोटाङको दोर्पास्थित बुवालुङमा सञ्चालित अन्नपूर्ण माविको पर्खाल निर्माण सम्पन्न गरेको डेढ महिना नबित्दै भत्किएपछि अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माण उपभोक्ता समिति तथा विद्यालयको चर्को आलोचना भइरहेको छ।

संघीय सरकारको सशर्त अनुदानअन्तर्गत नगरपालिकाबाट गत वर्ष विनियोजित रु २० लाख १६ हजार रकममा निर्माण गरिएको पर्खाल निर्माण उपभोक्ता समितिको लापरबाहीले भत्किएको बताइएको छ।

‘असार २९ गते फरफराक, साउन ७ मा भत्कियो। अब भन्नुस् ! यसको जिम्मेवार को हो ?’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका गजेन्द्र राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्कुल प्रशासनलाई सोध्दा थाहा छैन भन्छ। स्कुलको हाताभित्र स्कुल प्रशासनलाई थाहा नदिई निर्माणको काम हुन्छ कि हुँदैन ? जसले गरे पनि कामको दीगोपनाका बारेमा सचेत हुनुपर्छ।’

भौगोलिक अवस्थाका कारण सो विद्यालयको भवन तल्लो र माथिल्लो गह्रामा निर्माण गरिएका छन्। तल्लो भवनको अगाडि यसअघि नै खेलमैदान निर्माण गरिएको थियो। खेलमैदानको भित्तामा करिब दुई मिटर अग्लो पर्खाल उठाइएको छ।

नवनिर्मित पर्खाललाई माथिबाट खसेको ढुङ्गामाटोसहितको भलबाढीले पुरेपछि क्षति भएको विद्यालयकी प्रधानाध्यापक रेखादेवी बस्नेतले बताएकी छन्।

‘नगरपालिकाबाट प्राप्त बजेमार्फत तत्लो गह्राको खेलमैदानबाट माथिल्लो भवनमा निस्कने सिँढी निर्माण गरिएको थियो’, उनले भनिन्, ‘भलबाढीका कारण सिँढीको दायाँ–बायाँ पनि चर्किएको छ। यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरूरी छ।’

उनका अनुसार माथिल्लो भवन रहेका डिलमा विद्यार्थीलाई लड्नबाट जोगाउन पेटीजत्रो ढलानमा फलामको खम्बा गाडेर तारजालीको बार हालिएको छ।

बिना रड हालिएको उक्त तारजालीको विभिन्न भागको सिमेन्टको जग भलबाढीका कारण चर्किएको र भत्किएको देख्न सकिन्छ। विद्यालयका डिलमा निर्माण गरिएका कतिपय खम्बा र तारजाली खेलमैदानको डिलमा झुण्डिएका छन्।

निर्माण उपभोक्ता समितिले रकम बचत गर्न सिमेन्टका पर्खालमा जग नहाली माटोमाथि तारजालीको बार हालेका कारण उक्त पर्खाल भत्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।

माथिल्लो गह्रामा भल जाने ठाउँ नबनाएका कारण वर्षामा जमेको पानीले खोतलेर मुनिका पर्खाल तथा सिँढीमा क्षति पुगेको देखिन्छ।

वर्षा सुरू हुनुअघि बनाइएको पर्खाल र सिँढी भलबाढीका कारण जीर्ण बनेको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुमाया थापाले दाबी गर्छिन्।

विद्यालयको पर्खाल तथा सिँढीको काम गुणस्तरीय र स्टिमेटभन्दा बढी भएको वडाध्यक्ष लीलाकुमार चौहानले जानकारी दिए।

‘लगातारको वर्षापछि आएको भलबाढीका कारण विद्यालयको पर्खालमा सामान्य क्षति भएको छ’, उनले भने, ‘पुनः मर्मत गर्न करिब रु ५० हजार खर्च लाग्ने देखिएको छ। भत्किएको विद्यालयको पर्खाल तत्काल मर्मत गर्न उपभोक्ता समितिलाई लगाएको छु।’

यस वर्ष परेको लगातारको वर्षाका कारण जिल्लाका अधिकांश विकासे योजनाको काममा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन्।

विनियोजित बजेट सकाउन आर्थिक वर्षको अन्त्यमा हतारहतार अधिकांश विकास निर्माणका योजनाको काम गर्दा भलबाढीले क्षति पुर्‍याएको हो।

वर्षाका कारण जिल्लामा भएका विकासे योजनाका क्षतिमध्ये सबभन्दा बढी सडकमा पुगेको छ।

हिउँदभर निर्माण गरिएका अधिकांश सडक वर्षा लागेसँगै आएको भलबाढीले बगाएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?