काठमाडौं – तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुलतर्फ अघि बढेका छन् ।
क्रुरतापूर्वक मानिसको हत्या गरेको विद्रोही तालिबान लडाकुहरू राजधानीतर्फ अघि बढिरहँदा अमेरिकी अधिकारीहरूले अफगानिस्तानमा खटिने एउटा उद्धार फौजले दैनिक हजारौँ मानिसहरूलाई काबुलबाट उद्धार गर्नसक्ने बताएका छन्।
उनीहरुले काबुलबाट ८० किलोमिटर दक्षिणमा रहेको पुल एआलमसहित आधा प्रान्तीय राजधानी तालिबानहरूले कब्जा गरिसकेको बीबीसीले जनाएको छ ।
थप तीन हजार फौज अफगानिस्तानमा खटाउने बताएको पेन्टागनले यो सप्ताहान्तअघि नै फौजहरू पुगिसक्ने खबरमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवले गैरसैनिकहरूका लागि विस्मयकारी परिस्थिति निर्माण गर्नेगरी अवस्था नियन्त्रणबाहिर गइरहेको बताएका छन्। मानिसहरु त्रसित छन् । हालसम्म अढाई लाखभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन्। अमेरिकी र अन्य विदेशी सेनाहरूले २० वर्षको सैनिक कारबाहीपछि आफ्ना फौजहरू फिर्ता गरेपछि तालिबानहरूले आफ्नो नियन्त्रण विस्तार गरिरहेका छन् ।
पछिल्लो लडाइँले सन् २००१ मा तालिबानहरूलाई सत्ताबाट बाहिर पुर्याइएपछि मानवअधिकारको क्षेत्रमा प्राप्त भएका उपलब्धि गुम्ने भय व्यक्त भइरहेका छन्।
सन् १९९० को दशकमा तालिबानको शासनकालमा महिलाहरूलाई पूरै शरीर ढाकिने गरी बुर्का लगाउन बाध्य परेका थिए भने १० वर्षभन्दा बढी उमेरका बालिकालाई शिक्षा लिन बन्देज लगाएका थिए। उनीहरूले सार्वजनिक स्थलमा मृत्युदण्ड दिने क्रुर दण्ड दिने प्रणाली कायम राखेका थिए।
शुक्रबार तालिबानहरूले देशको दोस्रो ठूलो सहर कान्दहार र त्यहाँबाट नजिकैको लास्कर गाह र पश्चिमको हेरत प्रान्त नियन्त्रणमा लिएका थिए। उनीहरूले अहिले अफगानिस्तानको प्रान्तीय राजधानीमध्ये करिब एक तिहाइमा नियन्त्रण कायम गरेका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले तालिबानहरूको नियन्त्रण बढ्नु गहिरो चिन्ताको विषय रहेको बताए।
तर उक्त समूहबाट काबुललाई खतरा रहेको भन्ने प्रश्नलाई उनले त्यति महत्त्व दिएनन्।अमेरिकी उद्धार फौज पुग्दै
अमेरिकी कूटनीतिक कर्मचारीलाई उद्धार गर्न खटिएका तीन हजार फौजमध्ये अधिकांश सप्ताहान्तसम्म आइपुग्ने छन्।
अमेरिकाले दैनिक हजारौँ व्यक्तिहरूलाई काबुलबाट हवाई उद्धार गर्ने लक्ष्य राखेको छ।
पछिल्लो अमेरिकी गुप्तचरी विश्लेषणले तालिबानहरूले राजधानी काबुलतर्फ अघि बढ्ने प्रयास ३० दिन भित्र गर्ने उल्लेख गरेको छ। काबुलस्थित अमेरिकी राजदूतावासले आफ्ना कर्मचारीलाई संवेदनशील सामग्री, दस्ताबेज र मिथ्या प्रचारमा प्रयोग गर्न सकिने झण्डा सहितका सामाग्री नष्ट गर्न आगोको भट्टा र अरू उपकरण उपलब्ध रहेको जनाएको छ।
ब्रिटेनका नागरिक र पूर्व अफगान कर्मचारीहरूको उद्धारका लागि यूकेले ६०० सैनिक पठाउँदै छ। जर्मनीले जस्तै उसले पनि राजदूतावासमा खटिने कर्मचारिको सङ्ख्या एकदमै न्यून हुने उल्लेख गरेको छ।
डेनमार्क र नर्वेले आफ्ना दूतावास पूर्ण रूपमा बन्द गर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले तालिबानहरूलाई युद्ध अन्त्य गर्न र अन्तर्राष्ट्रिय समुदायलाई सैनिक बलका मद्दतले गरिएको सत्ता कब्जा मान्य हुने प्रस्ट पार्न भनेका छन्।
‘प्रत्येक दिन द्वन्द्वले महिला र बालबालिकामाथि ठूलो असर पारिरहेको छ। निरन्तर सहरी क्षेत्रमा द्वन्द्व भयो भने त्यसले निम्त्याउने नर संहारबाट गैरसैनिकले ठूलो मूल्य चुकाउनुपर्छ,’ उनले भने। राष्ट्रसङ्घका महासचिवले औषधिको आपूर्ति कम हुँदै गरेको र विद्यालय र स्वास्थ्य चौकी जस्ता महत्त्वपूर्ण संरचनामा क्षति पुगेको उल्लेख गरेका छन्।राष्ट्रसङ्घले छिमेकी देशहरूलाई मानिसहरूको सुरक्षाका लागि सीमा खुला राखिदिन अनुरोध गरेको छ।

राष्ट्र सङ्घका अनुसार पछिल्लो एक महिनामा मात्रै अफगानिस्तानमा एक हजारभन्दा बढी गैरसैनिक मारिएका छन्।
काबुलको बाहिरी क्षेत्रमा अस्थायी शिविर खडा गरिएका छन् भने सुरक्षा खोजिरहेका कतिपय व्यक्तिहरू सडकमै सुतिरहेका छन्।
भागेर राजधानी आउनेमध्ये ७२ हजार बालबालिका रहेको एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ।
अलग्गै घटनाक्रममा क्यानडाले महिला नेतृ, मानवअधिकारवादी कार्यकर्ता र पत्रकार गरी २० हजार जोखिममा परेका अफगान नागरिकलाई पुनर्वास गराउने बताएको छ। बीबीसीबाट (सबै तस्वीर : गुगलबाट)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया