ला-लिगाको पहिलो खेलमा भ्यालेन्सिया विजयी, गेटाफे पराजित

काठमाडौं । स्पेनिश ला-लिगाको सन् २०२१/२२ सिजनको शुरुवाती खेलमा भ्यालेन्सियाले गेटाफेलाई १-० गोलले पराजित गरेको छ।

भ्यालेन्सियाको घरेलु मैदान मेस्टाला स्टेडियममा करिब १० हजार दर्शकबीच भएको खेलमा १० खेलाडीमा सीमित घरेलु टोलीले १० खेलाडीमै सिमित पाहुना टोलीमाथि जित प्राप्त गर्न सफल भएको हो। पहिलो हाफको शुरुवाती तेस्रो मिनेटमै भ्यालेन्सियाका रक्षक हुगो गुइलामोनले सोझो रातो कार्ड प्राप्त गरेका थिए।

Image

खेलको शुरुवाती समयमा नै १० खेलाडीमा सीमित भएको घरेलु टोलीले खेलको ११औं मिनेटमा अग्रता लिएको थियो। मिडफिल्डर कार्लोस सोलरले पेनाल्टी मार्फत गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए।

खेलमा मात्र २६ प्रतिशत बल पोसेसन राख्न सफल भ्यालेन्सियाले जम्मा ४ शट प्रहार गरेको थियो। उता ७४ प्रतिशत बल आफ्नो कब्जामा राख्दै खेलमा २२ शट प्रहार गरेको गेटाफेले गोल भने गर्न सकेन। अझै खेलको ७६औं मिनेटमा दोहोरो पहेँलो कार्ड प्राप्त गर्दै पाहुना टोलीका रक्षक एरिक काबाको मैदानबाट बहिर्गमन भएपछि गेटाफेले बराबरी गोल फर्काउन असफल भएको हो। यस जितसँगै भ्यालेन्सियाले ला-लिगामा विजयी शुरुवात गर्न सफल भएको छ।

शनिवार ला-लिगामा तीन खेलको तालिका रहेको छ जसमा मध्यरात १:४५ बजे बलियो तथा दावेदार टोली रियल मड्रिडले आलाभेससँग प्रतिस्पर्धा गर्नेछ। डिपोर्टिभो आलभेसको मैदानमा खेलिने सो खेलमा जित निकाल्दै रियल विजयी शुरुवात गर्न चाहन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?