बुन्डेस लिगाको शुरुवाती खेलमा साविक विजेता बायर्न बराबरीमा रोकियो

काठमाडौं। जर्मन बुन्डेस लिगाको सन् २०२१/२२ सिजनको शुरुवाती खेलमा साविक विजेता बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबाकसँग १-१ गोलको बराबरी खेल खेलेको छ।

मोन्चेनग्लाडबाकको घरेलु मैदान बोरूसिया पार्कमा करिब २३ हजार दर्शकबीच खेलिएको खेलमा घरेलु टोलीले शुरुवाती १० मिनेटमै अग्रता लिन सफल भएको थियो। कप्तान लार्स स्टिन्डलको पासमा स्ट्राइकर अलासाने प्लीले गोल गर्दै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको खेल अन्त्य हुन करिब ३ मिनेटको समय बाँकी रहँदा साविक विजेता बायर्न खेलमा फर्किन सफल भयो। मिडफिल्डर जोशुवा कीमिकको पासमा बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा पुर्याएका थिए। किमिकले प्रहार गरेको कर्नर कीकमा लेवान्डोस्कीले ‘राईट फुटेड शट’ मार्फत गोल प्रहार गरेका थिए।

आफ्नो पूर्व म्यानेजर हान्सी फ्लिकको बहिर्गमन पश्चात् बायर्नले आरबी लाइपजिगबाट अनुबन्ध गरेको जुलियन नाइँगल्सम्यानको पहिलो आधिकारिक खेलमा बायर्नले जित दर्ता गर्न असफल भएको हो। दोस्रो हाफको खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि खेलमा निर्णायक गोल भने आउन सकेन र दुवै टोलीले समान १-१ अंक प्राप्त गरे।

बुन्डेस लिगामा आज शनिवार पाँच खेलको तालिका रहेको छ जसमा बलियो तथा दावेदार मानिएको टोली बोरुसिया डर्टमन्डले अर्को बलियो टोली आइन्टराक्ट फ्रान्कफर्टसँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे डर्टमन्डको घरेलु मैदान ‘सिग्नल इडुना पार्क’मा खेलिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?