कोरोना कहरकाबीच मौद्रिक नीति : आउलान् त जनअपेक्षित कार्यक्रम ?

लोकपथ
175
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

कोरोना महामारीका कारण थला परेको अर्थतन्त्र सुदृढ बनाउनका लागि थप टेवा पुर्याउने किसिमको कार्यक्रमहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

आज अपराह्न ४ बजे सार्वजनिक हुन लागेको मौद्रिक नीतिले कर्जाको साँवा र ब्याज तिर्न म्याद थप गर्ने पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायत सुविधालाई निरन्तरता दिने बताइएको छ । कोरोना महामारी अझै पनि कायम रहेकाले केही दरसम्म सुविधा दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

गत वर्ष कोरोनाले बढी क्षति भएकाले राष्ट्र बैंकले राहत पनि लामो समयका लागि उपलब्ध गराएको थियो । तर यसपाली भने गत वर्षजस्तो लामो समयका लागि राहत उपलब्ध नहुने राष्ट्र बैंक स्रोतले जनाएको छ । तर कोरोनाका बीचमा पनि अर्थतन्त्र केही चलायमान भएको हुँदा मौद्रिक नीतिले उद्योग व्यवसायलाई सोचेजति राहत नदिने भएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले यसपाली ऋण प्रहवाहमा केही कडाइ गर्न लागेको छ । कोरोनाका कारण गत फागुनदेखि भदौ–असोजसम्म ऋण लगानी नहुँदा बैंकिङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको थियो । त्यसपछि बजार खुलेसँगै ऋण लगानी बढेको अझै रोकिएको छैन ।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांकअनुसार गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

साउन २२ गतेसम्म ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । तीव्र गतिमा कर्जा लगानी भएका कारण कतै कर्जा लगानीको दुरुपयोग त भएको छैन ? भन्ने आशंकामा राष्ट्र बैंकले कर्जा लगानीमा कडाइ गर्न लागेको हो । पछिल्ला केही महिना उच्च रुपले ऋण विस्तार भएको र त्यसले कमसल सम्पत्ति सिर्जना गर्ने भन्दै ऋण विस्तार १९ प्रतिशतमा सिमित गर्ने भएको छ ।

गत वर्ष राष्ट्र बैंकले ऋण विस्तारको लक्ष्य २० प्रतिशत राख्दा २८ प्रतिशत विस्तार भएको थियो । यसैले यसपाली मौद्रिक नीतिले ऋण विस्तारसम्बन्धी कसिलो नीति लिन लागेको स्रोतको भनाइ छ । त्यस्तै, मौद्रिक नीतिमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुने परियोजनामा धितो राखी १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइने व्यवस्था गरिनेछ । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी १ अर्बको च्यालेन्ज फन्ड कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा मौद्रिक नीतिले व्यवस्था गर्नेछ ।

यसपाली मौद्रिक नीतिले साना बैंक तथा वित्तीय संस्थालाई मर्जर गर्न र पुँजी वृद्धि गर्ने नीति अख्यिार गर्न लागेको स्रोतले जनाएको छ । त्यस्तै, मौद्रिक नीतिले बिग मर्जरलाई पनि प्रोत्साहन गर्नेभएको छ । स्नातक वा त्यसभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणालाई मौद्रिक नीतिले कार्यान्वयन गर्न लागेको छ ।

विगतका वर्षहरुमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने कर्यक्रम प्रभावकारी भएको थिएन । अब यो कार्यक्रम कतिसम्म प्रभाकारी हुन्छ त्यो भने हेर्न बाँकी नै छ । त्यस्तै, मौद्रिक नीतिले मूल्य वृद्धि नियन्त्रण गर्ने, वित्तीय स्थायित्व कायम गर्ने, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्नेलगायतका विषयमा पनि नीतिगत व्यवस्था गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?