३३ किलो सुन लुटपाट र हत्या प्रकरण : महाशाखाका एसएसपी नै छानबिनमा

काठमाडौं, २३ चैत- महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका हुन्, राजधानी दैनिकले खबर छापेको छ ।सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको हो ।गृह मन्त्रालयले बिहीबार मुख्यालयलाई पत्र लेख्दै लोहनीलाई महाशाखाबाट प्रधान कार्यालयमा बोलाएर छानबिन गर्न निर्देशन दिएको हो । समितिले मंगलबार एसएसपी लोहनीसँग बयान लिएको थियो ।प्रहरी मुख्यालयले पनि प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुस्कल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । दुवै समितिको बैठक बिहीबार साँझ गृह मन्त्रालयमा बसेको स्रोतले जनाएको छ ।लोहनीसँगै अन्य ‘जुनियर’ प्रहरी अधिकृतलाई समेत तानेर छानबिनको दायरा फराकिलो पार्न समितिले निर्देशन दिएको छ । सुन तस्करले सुन लुटेर घटना गुपचुप गराउन सुन बोक्ने भरिया सनम शाक्यको हत्या गरेको र त्यसमा प्रहरीको मिलेमतो रहेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?