किरणलाई आई-लिगको ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आई-लिगमा ‘फ्यान्स प्लेयर अफ दि सिजन’को अवार्ड जितेका छन्।

भारतको शीर्ष श्रेणीको फुटबल लिग, आई-लिगले बिहीवार सार्वजनिक गरेको अवार्ड अनुसार लिगमा समर्थकले किरणलाई सिजनकै उत्कृष्ट खेलाडीका रूपमा मनोनित गरेका हुन्। गत सिजन राउण्ड ग्लास पंजाब एफसीबाट आई-लिग खेलेका किरणले १४ खेलमा ७ क्लिन शीट राखेका थिए। सो दौरान उनले ८२ प्रतिशत बचाउ औसतका साथ कुल ५६ प्रहारलाई बचाउ गरेका थिए।

किरण सम्मिलित पंजाबको टोलीले आई-लिगमा चौथो स्थान ओगट्दा उनी लिगकै सर्वोत्कृष्ट गोलरक्षक समेत चुनिएका थिए। उनी लिगको सर्वोत्कृष्ट गोलरक्षक घोषित हुँदा पुरस्कार स्वरूप २ लाख ५० हजार रुपैयाँ नगद पनि प्राप्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?