नेपालको सदाबहार कमजोरी : हतारमा भ्रमण, फितलो तयारी

काठमाडौँ, २३ चैत- भ्रमणका लागि निम्त्याउने देशले द्विपक्षीय शिखर वार्तापछि जारी गरिने संयुक्त विज्ञप्तिको मस्यौदा अगाडि नै पठाएको हुन्छ, जसमा भ्रमण गर्ने पक्षले गहन गृहकार्य गर्नपर्ने हुन्छ ।केही महिनाअघि शेरबहादुर देउवाको भारत भ्रमणका लागि गृहकार्यमा तत्कालीन योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले सक्रिय थिए । तर, संयुक्त विज्ञप्तिका लागि प्रभावकारी छलफलको परम्परा नै नभएको देखेर आफू छक्क परेको वाग्ले बताउँछन् । विकसित देशले लामो गृहकार्य अर्थात् वर्षौँ तयारी गरेका हुन्छन् । ‘नेपालले, त्यो पनि भारत भ्रमणका क्रममा तयारीको समयसमेत पाउँदैन,’ वाग्ले भन्छन् । सरकार बनेको केही समयमै भारत भ्रमण हुन्छ, केही सातामै भ्रमणको मिति तय हुने गर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ |टोली ठूलो हुँदा लाजमर्दो हुने अवस्था पनि अक्सर आउँछ । फेरि नेपाली पक्षले भ्रमण दलको सदस्यको नाम पनि समयमै दिन्नन् । समयमा नाम नपाएका कारण स्वागत गर्ने पक्षले तयारी गर्न पाएको हुन्न, होटेल बुकिङसमेत नभएको हुन सक्छ । प्रधानमन्त्री ओली यसअघि भ्रमणमा छँदा मुम्बई पनि पुगेका थिए । मुम्बईको हायात होटेलमा कसलाई कुन कोठा भन्ने अन्योल हुँदा अर्थमन्त्री नै झन्डै एक घन्टा लबीमा कुर्नपरेको एक व्यवसायी सुनाउँछन् । देउवाको भ्रमणका क्रममा हैदराबादमा त्यस्तै भयो । मधेसी दलसम्बद्ध सांसदको नाम अन्तिम समयमा दिइएको थियो, होटेलमा घन्टौँ कुरेपछि कोठाको बन्दोबस्त भएको थियो । भ्रमण दलका सदस्यका लागि नामसहितको सिट विनियोजन आदिको तयारी पूरा भएको थिएन । ‘मधेसी भएकाले परराष्ट्रका कर्मचारीले हेपे भनेको पनि सुनियो,’ वाग्ले भन्छन्, ‘तर, त्यो समयमा नाम नपठाउँदाको परिणाम थियो ।’राजकीय भ्रमणमा जाँदा प्रधानमन्त्री र उनको पिएलाई राष्ट्रपति भवनमा राखिन्छ । बाँकीका लागि होटेल बुक गरिदिएको हुन्छ । होटेलका कोठाको बिल भारत सरकारले तिर्दिए पनि ‘मिनीबार’को आफैँले तिर्नपर्ने हुन्छ । यस्ता कुरा थाहा नहुँदा पटक–पटक लज्जित हुनपर्ने अवस्था आउँछ ।०६३/६४ को परिवर्तनपछि गिरिजाप्रसाद कोइराला भ्रमणमा जाँदा ठूलै घरानाका व्यापारीले ‘मिनीबार’बाट झिकेर पिएको बिल दुई लाख भारुभन्दा बढी भएछ । भ्रमण दलमा रहेका तत्कालीन अर्थसचिव रामेश्वर खनालका अनुसार त्यही होटेलको अर्को कोठामा पत्रकारको बिल ७० हजार भारु । वाग्लेका अनुसार देउवाको भ्रमणका क्रममा पनि यस्तो भएको थियो । एकजना सांसदसँग मिनीबारको भारी रकम होटेलले मागेपछि लफडा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?