सांसद्को प्रश्न– ‘सबै नागरिकलाई खोप कहिले ?’

लोकपथ
65
Shares

काठमाडौं । सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वमाथि दिएको वक्तव्यमाथि प्रश्न गर्दै सांसदहरुले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गरी सहजरूपमा सेवा लिने वातावरण बनाउन आग्रह गरे।

सांसद दिव्यमणि राजभण्डारीले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै कोरोनाविरुद्ध लड्न नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा उठाएको सर्वदलीय संयन्त्र बनाउने कुराको प्रगतिका बारेमा प्रश्न उठाए ।

त्यस्तै सांसद शेरबहादुर तामाङले एक महिना पहिले र अहिले तथ्याङ्क केही फरक नभएको बताए । सरकारले मेलम्ची क्षेत्रमा बाढी, पहिरो प्रभावित क्षेत्रमा नागरिकले शतप्रतिशत खोप दिने भने पनि नागरिकले नपाएको उनले बताए ।

त्यसैगरी सांसद विमला विकले श्रमिक वर्गलाई पनि सरकारले खोप दिइनुपर्ने बताइन् । त्यस्तै सांसद् डिला सङ्ग्रौलाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड मात्रा खोप ल्याएको भँन्दै त्यसको भण्डारणको अवस्था के छ भन्दै प्रश्न गरिन् ।

सांसद सरीता न्यौपानेले कोभिड परीक्षणको गलत रिपोर्ट दिनेलाई कारबाही हुनुपर्ने बताइन् ।

त्यसैगरी सांसद गगनकुमार थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको बताए । जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेको भन्दै उनले त्यससम्बन्धी अध्ययनको आधारका बारेमा प्रश्न गरे।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप पाउनुपर्ने र विदेश जानका लागि खोप लगाउन नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् ।

सांसद बिन्दा पाण्डेले कोभिड सङ्क्रमणका कारण मानसिक समस्या र हिंसा बढेको उल्लेख गरिन् । सांसद निरुदेवी पालले तेस्रो लहरमा बालबालिकालाई जोखिम बढी भएको तर त्यस क्षेत्रमा विशेषज्ञ कम रहेकाले त्यसको तयारीका बारेमा जिज्ञासा राखेकी थिइन् ।

सांसद मीनबहादुर विश्वकर्माले दीर्घरोगीलाई दिइने मासिक भत्ताका बारेमा प्रश्न राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?