नेपालले खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना ओमानमा खेल्ने अन्तराष्ट्रिय एकदिवसीय त्रिकोणात्मक सिरिजको मिति तय भएको छ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, संयुक्त राज्य अमेरिका र ओमानबीचको अन्तराष्ट्रिय एकदिवसीय त्रिकोणात्मक सिरिज आगामी भदौ २८ गतेदेखि असोज ४ गतेसम्म आयोजना हुने पक्का भएको छ। ओमनमा आयोजना हुने यस सिरिजको मिति टाइम्स अफ ओमानले सार्वजनिक गरेको हो।

Nepal vs Oman – WicketNepal

ओमनमा आगामी अक्टोबर १७ देखि नभेम्बर १४ सम्म टी-ट्वान्टी विश्वकप आयोजना हुँदैछ। त्यसअघि नै ओमानले आफ्नो देशमा हुन लागेको सम्पूर्ण टी-ट्वान्टी तथा एकदिवसीय खेलको तालिका सार्वजनिक गरेको हो। नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नु अघि पपुवा न्युगिनीसँग मैत्रीपूर्ण एकदिवसीय सिरिज खेल्ने तालिका पनि रहेको छ।

नेपाल अगस्टको अन्तिम साता ओमान प्रस्थान गर्ने सम्भावना रहेको छ। नेपालको ओमान भ्रमण सेप्टेम्बर २० मा अन्त्य भए लगत्तै सेप्टेम्बर २५ देखि एभरेस्ट प्रिमियर लिग (ईपीएल) शुरु हुने तालिका रहेको छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत गत वर्ष नै ओमान र संयुक्त राज्य अमेरिकासँग ४ एकदिवसीय खेल खेलिसकेको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग-२ मा ७ टोली सहभागी रहेका छन्। सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?