गोर्खामाथि दुई शताब्दीदेखि विभेद

लोकपथ
154
Shares

काठमाडौं – बेलायती अभिमानका लागि दुई सय पाँच वर्षदेखि रगत–पसिना बगाउँदै आएका गोर्खा सैनिकका अगुवा अहिले लन्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा छन् । १७ दिनको रिले र पाँचौं दिनको आमरण अनशनपछि पनि बेलायत सरकारले वास्ता गरेको छैन ।

बेलायती सेनामा करिब चार हजार गोर्खा कार्यरत छन् । करिब १८ हजार भूतपूर्व गोर्खाले पेन्सन पाउँछन् । पटकपटकका आन्दोलनपछि बेलायतले सन् १९९७ पछि भर्ना हुने गोर्खा सैनिकलाई बेलायतीसरह पेन्सन दिन थालेको छ । तर, त्यसअघि अवकाश पाएका आठ हजार वृद्ध गोर्खा र तिनका परिवारमाथि अहिले पनि विभेद छ । भूतपूर्व गोर्खाले भन्दा बेलायतीले २ सय ९८ प्रतिशत बढी पेन्सन पाउँछन् । विभेद अन्त्यको माग गर्दै पछिल्लोपटक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आह्वानमा जुलाई २१ देखि रिले अनशन सुरु भएको हो । शुक्रबारदेखि भने तीन जना अगुवा प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटअघि आमरण अनशनमा बसेका छन् ।

संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र पुष्पा राना भोक हडतालमा बसेको चौथो दिन मंगलबार स्थानीय प्रहरीले उनीहरूका पाल र कुर्सी हटाइदिएको थियो । त्यसक्रममा बेलायती प्रहरी र गोर्खाबीच झडपसमेत भएको थियो । प्रहरीले पाल लगिदिएपछि उनीहरूले खुला आकाशमा अनशन जारी राखेका छन् । शनिबारदेखि काठमाडौंमा पनि अनशन बस्ने संघर्ष समितिको तयारी छ । सन् १८१६ को सुगौली सन्धिदेखि नेपालीहरू ब्रिटिस सेनामा भर्ती हुन थालेका हुन् । यो बीचमा बेलायतको पक्षमा विश्वका विभिन्न कुनामा पुगेर लडे पनि नेपालीहरूको सुविधा र अवकाशमा विभेद हुँदै आएको थियो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?