काठमाडौं । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् ।
प्रधानन्यायाधिश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क समेत गरे । नेपाल कानून व्यवसायी परिषदले बुधवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए ।
उनले भने, ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्याय पालिकालाई निरन्तर अघि बढिरहन दिनु पर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न । र महत्व पनि दिनुहुन्न । यो आफै महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि माग निर्देशन गर्दछ । नागरिक भित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन । देशका सबै निकायहरु यसै अन्तरगत पर्दछन ।’
प्रधानन्यायाधिश जबराले आफूले कहिल्यै पनि दवाव र प्रभावमा परेर फैसला गर्ने नगरेको दावी समेत गरे । कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए । उनले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे ।
मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यकतामा रहेकोमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया