ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सांसद वलीको माग

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रियसभाका सदस्य (सांसद) कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छिन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानबिन गरौँ । वाइडबडीको छानबिन गरौँ । अरुण थर्डको छानबिन गरौँ । टनकपुरको छानबिन गरौँ । बालुवाटारको छानबिन गरौँ । ओम्नीको छानबिन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानबिन गरौँ । क्यान्टोनमेन्टको पनि छानबिन गरौँ । ठूलाठूला हाइड्रोको पनि छानबिन गरौँ । १६५ सांसदको समर्थन छ केको लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको केको लागि हो ? किन ? तथापि अर्कोतिर औँला नठड्याऔँ । सबैले सबैलाई देखेकै छ ।’

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन् । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान् । अर्बौंको डिल भयो होला । जलस्रोतको विश्वको दोस्रो धनी देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दै छौँ । बिजुली दिन सकेका छैनौँ । हाम्रा नदीनालाहरु बन्धक बनेका छन् । सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरि केपी ओलीको सरकार आउला भनी पर्खिने ? जवाफ चाहियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?