अफ्रिकामा अर्को खतरनाक मारबर्ग भाइरस देखापर्‍याे

लोकपथ
1.2k
Shares

कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको विश्व समुदायमा एक अर्को नयाँ प्रजातिको खतरनाक भाइरस देखा परेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै पुष्टि गरेको उक्त नयाँ भाइरस पश्चिम अफ्रिकाको गुइनिया देशमा देखा परेको जनाएको छ । मारबर्ग नाम गरेको उक्त भाइरस चमेरोबाट मानिसमा सरेको डब्लुएचओले जनाएको छ । यो भाइरसको सङ्क्रमण भएमा मृत्युदर ८८ प्रतिशतसम्म देखिएको जनाएको छ ।

यो भाइरसको सङ्क्रमण भएको व्यक्तिमा अत्यधिक ज्वरो आउने र टाउको दुख्ने, मांसपेशीमा पिडा हुन थाल्छ । सङ्क्रमण भएको तेस्रो दिन पछि शरीर गलेको जस्तो हुने, पेट दुख्ने र बान्ता हुने गर्छ । यो समस्या करिब एक सातासम्म भइरहन्छ । यसको सङ्क्रमण हुँदा आँखा गह्रुँगो हुने र अनुहार पनि परिवर्तन हुन थाल्छ । शरीर सुस्त हुँदै जान्छ र सङ्क्रमण भएको दुई देखि सात दिनमै शरीरका विभिन्न भागमा फोका पनि आउन थाल्छ ।

यो भाइरसको सङ्क्रमण हुँदा कतिपय बिमारीलाई शरीरबाट रगत बग्ने समस्या पनि देखिन्छ । बान्ता हुनुका साथै गुदद्वार, नाक, गिजा र यौनाङवाट रगत समेत बग्न थाल्छ । यो भाइरसको सङ्क्रमण भएर गम्भीर अवस्थामा पुग्दा बिमारीलाई अत्यधिक ज्वरो आउने र रिस बढी उठ्ने समेत हुन्छ । यो भाइरसको सङ्क्रमण भएको १५ औँ दिनपछि कसै कसैको अण्डकोष सुन्निने समस्या समेत देखिने गरेको छ । तर यो भाइरसको सङ्क्रमण भएको ८–९ दिनमै बिमारीको मृत्यु हुने अधिक सम्भावना हुन्छ ।

यो भाइरसको सङ्क्रमणमा आएको व्यक्तिले शरीरबाट निकाल्ने तरल पदार्थबाट अर्को व्यक्तिमा सर्ने गरेको पाइएको छ । डब्लुएचओले मारबर्ग भाइरसलाई देखा परेकै स्थानमा रोक्ने प्रयास भइरहेको जनाएको छ । गत वर्ष इबोला भाइरसको सङ्क्रमण भएर गुइनियामा १२ व्यक्तिको मृत्यु भएपछि सोही क्षेत्रमै उक्त भाइरसलाई नियन्त्रण गर्न सफल भएको थियो । अहिले पनि डब्लुएचओ सोही अभियानमा लागेको छ । डब्लुएचओको अफ्रिकाका क्षेत्रीय निर्देशक डा. मात्सिदिसो मोएतीले मारबर्ग भाइरसलाई हामी यही क्षेत्रमै रोक्ने प्रयासमा लागि रहेका छौँ जसको कारण यो भाइरसको खतरा अन्यत्र नजाओस् भन्ने नै रहेको ।

सन् १९६७ मा जर्मनीको मारबर्ग, फ्रैंकफर्ट, सर्बियाको बेलग्रेटमा यो भाइरस फेला परेका थियो । युगान्डाबाट ल्याइएको हरियो रङका बाँदरमा यो भाइरस रहेको पत्ता लागेको थियो । त्यसपछि युगान्डा, अंगोला, कङ्गो, केन्या, दक्षिण अफ्रिकामा यो रोगको सङ्क्रमण देखिएको थियो ।

सन् २००८ मा युगान्डाको एक गुफामा गएका दुई यात्रीमा यो भाइरसको सङ्क्रमण देखिएको थियो । उक्त गुफामा रहेको एक प्रजातिको चमेरो मार्फत उनीहरूमा भाइरसको सङ्क्रमण भएको पछि पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?