पीएसजीको जर्सी नम्बर ३० मा देखिनेछन् मेस्सी (फोटो फिचर)

काठमाडौं। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन् (पीएसजी)ले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई फ्रि-ट्रान्सफरमा अनुबन्धित गरेको छ।

सेपनिश क्लब बार्सिलोना र मेस्सीबीचको दुई दशकको यात्रा अन्त्य भएसँगै पीएसजीले मेस्सीलाई औपचारिक रूपमा भित्राएको छ। पीएसजीले मंगलवार सामाजिक संजालमा औपचारिक भिडियो सार्वजनिक गर्दै मेस्सी अनुबन्धित गरेको जानकारी दिएको हो।

१३ वर्षको उमेर देखि बार्सिलोनाबाट फुटबल खेल्दै आएका लियोनल मेस्सी र क्लबबीचको यात्रामा अप्रत्याशित ढंगले पूर्णविराम लागेको थियो। करिब २१ वर्ष क्लबमा रहँदा मेस्सीले बार्सिलोनाका लागि झण्डै ८०० खेल खेलेका थिए। बार्सिलोना क्लब इतिहासकै सर्वाधिक गोलकर्ता (६७२) तथा असिस्टकर्ता (३०५), मेस्सीले क्याटलोनियन क्लबसँग ३५ उपाधि जित्न सफल भएका थिए।

बार्साले मेस्सीलाई क्लबमै राख्ने प्रयास गरेपनि क्लबको आर्थिक अवस्थाका कारण सो हुन भने सकेको थिएन। र बार्सिलोनाले आफ्नो क्लब इतिहासकै सबैभन्दा महान खेलाडीलाई फ्रि-ट्रान्सफरमा गुमाउनु पर्यो। बार्सिलोनाको दुर्भाग्य, पीएसजीको सौभाग्य सावित भएको छ। पुरै करियर एउटै क्लबमा समर्पित गरेका संसारकै उत्कृष्ट खेलाडी मेस्सीलाई क्लबमा अनुबन्धित गर्नु कुनै पनि क्लबको लागि सौभाग्यको कुरा हो, त्यो पनि फ्रि-ट्रान्सफरमा भित्राउन सफल हुनु, पीएसजीले इतिहासकै महत्वपूर्ण तथा सर्वोत्कृष्ट कारोबार गरेको छ।

मेस्सी पेरिस आउनु अघि देखि नै पीएसजीका समर्थक ‘ले बुर्गेट’ विमानस्थलमा उनको आगमनको पर्खाइमा रहेका थिए। घण्टौंको प्रतीक्षा पश्चात् मेस्सी पेरिस लेखेको टी-शर्ट लगाएको अवस्थामा विमानस्थलमा देखिए। मेस्सीको आगमनले पेरिसमा रौनक छाएको छ।

“मेरो करियरको नयाँ अध्याय शुरु गर्न एकदम आतुर छु”, मेस्सीले पीएसजीको औपचारिक सामाजिक संजालमा भनेका छन्। “क्लब र मेरो उद्देश्य एउटै छ, यहाँको मेहनती खेलाडी तथा स्टाफसँग मिलेर क्लब र समर्थकको लागि खुशीयाली प्रदान गर्न चाहन्छु”, मेस्सीले सम्झौतामा हस्ताक्षर गरेपछि भनेका थिए।

पीएसजी र मेस्सीबीच दुई वर्षको सम्झौतामा हस्ताक्षर भएको छ। पीएसजीले यस सरुवा बजारमा भित्राएको मेस्सी पाँचौं खेलाडी हुन्। यसअघि पीएसजीले रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस, लिभरपुलका जर्जिनियो वाइनाल्डम, एसी मिलानका गोलरक्षक तथा युरो कप विजेता जियानलुइगी डोनारुम्मालाई फ्रि-ट्रान्सफरमा भित्राइसकेको छ।

Image

त्यस्तै पीएसजीले इन्टर मिलानका राईट ब्याक तथा गत सिजनको सिरी-ए विजेता असरफ हाकिमीलाई ५४ मिलियन युरोमा क्लबमा अनुबन्धित गरिसकेको छ। सरल भाषामा भन्नुपर्दा पीएसजीले यी पाँचजना विश्वविख्यात खेलाडीलाई भित्राउँदा कुल ५४ मिलियन युरो मात्र खर्चेको छ। यस सरुवा बजारको राजा, पीएसजी।

मेस्सी टू पीएसजी, केही तस्वीर

(तस्वीर:पीएसजी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?