कांग्रेस : यसरी सम्भव छ विशेष महाधिवेशन

लोकपथ
572
Shares

विभिन्न एजेण्डाहरु तय गरि सोमबार र मंगलबार कांग्रेसका देशभरका जिल्ला सभापतिहरुको आन्तरिक बैठक बस्यो ।

सोमबार (हिजो) बाट प्रारम्भ भएको बैठकमा ३९ जना जिल्ला सभापतिहरु भौतिक उपस्थितीमा सम्पन्न भएको छ । १७ जना सभापतिहरुले भर्चुअल माध्यमबाट बैठकप्रति ऐक्यवद्धता जनाउँदै हामीलाई समर्थन गर्नुभएको छ । सबै समस्टीगत ५६ जिल्ला सभापतिहरुको उपस्थितीमा हामीले बैठक सम्पन्न गरेका छौँ ।

यसमा हाम्रो पहिलो एजेण्डा भनेको कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भका क्रियाशील सदस्यताका बारेमा हुन् । क्रियाशील सदस्यता टुंग्याउनुभन्दा अगाडी विधिसम्बत, पद्धतीसम्बत र नेपाली केन्द्रीय समितिको बैठकको निर्णयलाई आधार मानेर क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्दछ भन्ने हामी सबैको साझा निचोड हो । क्रियाशील सदस्यहरुको नामावली वडाबाट क्षेत्रमा, क्षेत्रबाट जिल्ला हुँदै केन्द्रमा आइसकेको अवस्थामा केन्द्रले त्यसमा काटिने र थपिने गर्नु नै क्रियाशील सदस्यता विवादको मुल समस्या भएको छ । किनभने तल्लो तहबाट समावेश भएर आएका क्रियाशील सदस्यता काट्नै मिल्दैन् र बिचमा सयौँ संख्या क्रियाशील सदस्य थपिएका छन् त्यो थप्न पनि मिल्दैन । त्यसकारण पार्टीलाई आफ्नो पक्षमा कब्जा गर्नको लागि जुन ढंगले क्रियाशील केन्द्रबाटै इन्ट्री गर्ने काम भयो त्यो इन्ट्री गर्ने नाममा जिल्लालाई इन्ट्री गर्न रोक्ने अनि केन्द्रले आफैँले इन्ट्री गर्ने जुन किसिमको प्रावधान छ त्यो अन्त्य गर्नुपर्छ ।

यी सबै क्रियाशील सदस्यताको विवादलाई अन्त्य गर्दै हामी अगाडी बढ्न पर्छ भन्ने हाम्रो बैठकको मुख्य एजेण्डा हो ।

त्यसको साथसाथै अब क्रियाशील सदस्यता टुंग्याउनुका साथै कांग्रेसको १४ औँ महाधिवेशन भदौ २३ भित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । नेपालको संविधानको धारा २७९ को उपधारा ४(ख) ले के भन्छ भने–‘कुनैपनि राजनीतिक दलहरुले प्रादेशीक र संघीय तहको पदाधिकारीको निर्वाचन हरेक साढे ५ वर्षमा सम्पन्न गरिसक्नुपर्दछ ।’ यो हाम्रो संवैधानिक व्यवस्था हो । अब हामी संवैधानिक व्यवस्थामा रहेको कांग्रेसको महाधिवेशन भदौ २३ भित्र टुंगिनुपर्ने हुन्छ ।

तोकिएको समयभित्र अधिवेशन सम्पन्न हुन नसक्दा पार्टीको वैधानिकता माथि प्रश्न उठ्नु स्वभाविक हो । ७५ वर्ष पुरानो ऐतिहासिक यो पार्टीमा आजसम्म कहिल्यै पनि वैधानिकताको संकट आएन । आज लोकतान्त्रिक परिपाटी भएको लोकतान्त्रिक पार्टीले अधिवेशन गर्न सकेन वा गर्न चाहेन । अर्कोतिरबाट भन्ने हो भने पार्टीले गर्न नचाहेकै कारण आज यो स्थिती आएको हो । तर हामीसँग नियमित अधिवेशन गर्ने समयावधी नभए वा नपुग भए हामीसँग विकल्प पनि छ । त्यो विकल्प भनेको विशेष महाधिवेशन हो ,जसमा १३ औँ महाधिवेशनबाट निर्वाचित प्रतिनिधिबाट प्रादेशीक र संघीय तहको पदाधिकारीको निर्वाचन सम्पन्न गर्ने र ६ महिनादेखि १ वर्ष भित्रमा नियमित अधिवेशन गर्नेगरी हामीसँग त्यहि विशेष महाधिवेशनको विकल्प रहेको हो ।

यो हाम्रो पार्टीको विधानमा नै रहेको छ । विधानमा ३६ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित दिएमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ भने केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन गर्न सक्छ । त्यसो हुँदा पार्टीको वैधानिकता जोगाउन ३६ प्रतिशतले माग गरेर महाधिवेशन गर्न ३ महिनाको अवधी चाहिन्छ त्यसमा ३ महिनाको अवधी पनि छैन । अब केन्द्रीय समितिले नै विशेष महाधिवेशनको लागि ६ महिनादेखि १ वर्षसम्मको अवधी लिने र त्यो भित्र सबै समस्या टुंग्याएर नियमित अधिवेशन सम्पन्न गर्ने । यो दोस्रो विकल्पका रुपमा हामीले नेताहरुलाई पनि सम्झाएका छौँ ।

अहिले कांग्रेस सरकारमा गएको छ । आम नेपाली जनता कोरोना भाइरस (कोभिड(१९) बाट आक्रान्त छन् । कोभिडबाट आक्रान्त भएका नेपाली जनताको इच्छा आकांक्षाहरु भनेको कोरोनाविरुद्धको खोप हो । त्यसकारण ३/४ महिनाभित्र विभिन्न विकल्पबाट छिट्टै सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता हुनुपर्यो । त्यसमा आफ्नो गाउँपालिका,नगरपालिका वा वडामा नै सहज रुपमा खोप उपलब्ध गराउने प्रत्याभूति दिलाउनुपर्यो ।

अहिले भ्रष्ट्राचारका काण्डैकाण्ड उठिरहेको बेला केपी शर्मा ओली नेतृत्वको सरकारको पालाको भ्रष्ट्राचारको सन्दर्भहरु छन् । यो भ्रष्ट्राचारका कुराहरुमा निष्पक्ष न्यायीक आयोग बनाउनु पर्छ । पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा र जो जसले भ्रष्ट्राचार गरेको हो वा भ्रष्ट्राचार काण्डमा मुछिएका छन् जो कोहि भएपनि कारबाहीको दायरामा ल्याउनुपर्यो । बाहिर अदालतको परमादेशबाट आएको सरकार भनेर हामीलाई समेत आरोप आइरहेका बेला सरकारले आफ्नो कार्यकाललाई कुशलतापूर्वक सञ्चालन गरोस भन्ने हाम्रो माग र चाहना हो ।

(नुवाकोट, नेपाली कांग्रेसका सभापति केसीसँग लोकपथका लागि प्रकाश पुडासैनीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?