कर्णालीका चार नेतालाई माधव नेपालको प्रतिवद्धता : उपचुनाव भए जिताउने जिम्मा मेरो

लोकपथ
312
Shares

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गरेका छन् ।

मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबीएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट अंक हाशिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कर्णालीका आफू पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए ।

उनले कर्णालीका नेताहरुको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडि बढ्न पनि आग्रह गरे । उनले भने, ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बताउनुभयो की, उहाँले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरुको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु तपाईंहरुको सदस्यता धरापमा छ भने यदि तपाइहरुको सदस्यता खारेज भयो भने अनि उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ। त्यसो हुनाले तपाईंहरु दृढताका साथ अगाडि बढ्नुस् । हामी साथमा छौँ ।’

वरिष्ठ नेता नेपालले आफूहरु कसैको सामु शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । आफूहरु दृढताका साथ अगाडी बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी अगाडि बढ्छौँ दृढताका साथ । शिर निहुराउने छैनौँ । कसैको टाङमुनि छिर्ने छैनौँ । अध्यारो सुरुङमा जानेवाला छैनौँ । दम्भ, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडी बढ्नेछौँ ।’

उनले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर आफूहरु अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?