अँगालो मार्दा शरीरलाई कसरी राम्रो गर्छ ?

लोकपथ
702
Shares

माया र प्रेमलाई प्रगाढ रहेको दर्साउन हाम्रो देशमा पनि पछिल्लो पटक अँगालो (हग) गर्ने चलन बढ्दै गएको छ । आफन्त वा आफूलाई मन परेको व्यक्तिलाई अँगालो मार्दा सम्बन्ध प्रगाढ हुनु स्वभाविक हो । यसले अँगालो मार्नेबीचको सम्बन्धलाई बलियो बनाउँछ नै । कसेर अँगालो मार्ने विषयमा वैज्ञानिकहरूले गरेको अनुसन्धानले अँगालो मार्दा, अँगालो मार्ने दुवै व्यक्तिलाई स्वास्थ्यमा समेत धेरै किसिमको फाइदा हुने बताएका छन् ।

सम्बन्धलाई बलियो बनाउँछ

कुनै पनि सम्बन्धलाई अझ बलियो बनाउन अँगालो मार्नु सबैभन्दा उत्तम उपाय मानिन्छ । मनोवैज्ञानिक दृष्टिकोणबाट अँगालो मार्नेहरूबीच गरिएको अनुसन्धानअनुसार नियमित अँगालो मार्ने जोडीहरूबीचको सम्बन्ध अरूको तुलनामा प्रगाढ र लामो समयसम्म जाने गरेको पाइयो । अँगालोले बढाएको यो किसिमको सम्बन्धमा अरू किसिमका माया प्रेमहरू पनि बढी हुने गरेको पाइएको थियो ।

उच्च रक्तचाप नियन्त्रण

अँगालो मार्दा यसले हाम्रो उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्न मद्दत गरेको पाइयो । अँगालो मार्दा शरीरमा आएको परिवर्तनले अक्सिटोसिन पैदा हुन्छ र यो हाम्रो शरीरको रगतमा मिसिन थाल्छ । यो पदार्थ शरीरको रगतमा मिसिएपछि उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । त्यसैले तपाईँलाई पनि उच्च रक्तचाप रहेको छ भने आफूलाई मन परेको व्यक्तिसँग बेला बेलामा अँगालोमा बाँधिने गर्नुहोस् ।

सम्बन्धमा प्रेम बढाउँछ

कहिले काहीँ मायालाई दर्साउन नबोलीकन अँगालो हाल्दा यसले धेरै बोलेर माया दर्साएको भन्दा बढी प्रभाव पार्छ । यदि तपाई रातभर आफ्नो जीवनसाथीसँग अँगालो मारेर सुत्नु भएको छ भने बिहान उठ्दा तपाई धेरै नै खुसी भएको महसुस गर्नुहुन्छ र उक्त दिन तपाईँलाई एकदमै तागत आएको जस्तै गरेर काम गर्नुहुन्छ । तर अनुसन्धानले जीवनसाथीसँग धेरै कम मानिसहरू मात्र नियमित अँगालो मार्ने गरेको बताएका छन् ।

तनावमुक्त रहने माध्यम

अँगालो मार्दा जति आनन्द आउँछ यसका फाइदाहरू पनि धेरै नै रहेको छ । अँगालो मार्दा कतिपय मानिसलाई मस्तिष्कमा आएका धेरै तनावहरू कम समेत गर्छ । अँगालो मार्दा हाम्रो शरीरमा रहेको अक्सिटोसिन र कार्टिसोल नामक हार्मोनहरु तीव्र रूपमा उत्पादन हुन्छ । यो हार्मोनले हाम्रो मस्तिष्कमा भएको तनावलाई कम गर्न मद्दत गर्छ ।

डिप्रेसनलाई कम गर्छ

मस्तिष्कमा उचित रक्त प्रवाह हुन नसकेको कारणले गर्दा पनि मानिसहरूमा डिप्रेसन हुने गर्छ । यदि नियमित रूपमा आफ्नो अन्तरंगसंग अँगालो मार्ने हो भने रगतमा अक्सिटोसिनको मात्रा बढ्दै जान्छ । जसले तपाईँमा भएको डिप्रेसनको मात्रालाई कम गर्दै लैजान्छ । त्यसैले सम्भावित डिप्रेसनबाट जोगिन मन छ भने तपाईँले नियमित रूपमा आफ्नो प्रियतमसँग केही बेर अँगालो मार्ने गर्नुहोस् ।

मीठो निन्द्रा लाग्छ

जसले आफ्नो पार्टनरसँग अँगालो मारेर सुत्छन् उनीहरू एक्लै सुत्ने व्यक्तिको तुलनामा गाढा निन्द्रा लिन्छन् भन्ने अनुसन्धानले देखाएको छ । यस्तो हुनुको मुख्य कारणमा पार्टनरको अँगालोमा धेरैले आफूलाई सुरक्षित महसुस गर्ने हुनाले पनि निन्द्रा गाढा लागेको हो । यदि रातको निन्द्रा राम्ररी पर्ने हो भने भोलिपल्ट शरीर फुर्तिलो हुनुका साथै अनुहारमा चमक समेत हुने छ ।

एकआपसमा विश्वास बढ्छ

अँगालोले केबल शरीरलाई मात्र राम्रो नगरेर मनलाई पनि राम्रो गर्छ । यदि तपाई आफ्नो पार्टनरसँग नियमित रूपमा अँगालो मार्ने गर्नुहुन्छ भने तपाईँहरूबीच विश्वासको वातावरण अरूको तुलनामा अझ बढी बन्नेछ । अँगालो मार्दा एक आपसमा प्रेम र स्याहार बढी भएको समेत पाइएको देखिन्छ ।

टाउको दुख्ने समस्यामा कमी

यदि तपाई लामो समयसम्म आफूलाई स्वस्थ र निरोगी राख्न चाहनुहुन्छ भने आफ्नो पार्टनरलाई नियमित जसो अँगालो मार्ने गर्नुहोस् । नियमित अँगालो मार्दा उच्च रक्तचाप र डिप्रेसनलाई त कम गर्छ नै यसले टाउको दुख्ने समस्यालाई पनि धेरै कम गर्छ ।

स्मरण क्षमतामा वृद्धि

केही अनुसन्धानहरूले नियमित रूपमा अँगालो मार्ने जोडीहरूको स्मरण क्षमता बढी भएको पाइएको छ । यस्ता जोडीहरूले कुनै पनि कुरा लामो समयसम्म सम्झने क्षमता राखेको समेत पाइयो । नियमित अँगालो नमार्ने जोडीको तुलनामा नियमित अँगालो मार्ने जोडीहरूको स्मरण क्षमता बढी भएको पाइएको थियो ।

लामो आयुको भइन्छ

नियमित रूपमा अँगालो मार्ने जोडीहरू बढी नै खुसी हुने गर्छन् । अँगालो मार्दा उनीहरूको शरीरमा उत्पादन भएको अक्सिटोसिनको मात्राले उनीहरूमा सकारात्मक भावहरू आइरहेको हुन्छ । सकारात्मक सोच पैदा भएको कारण उनीहरूको आयु तनावमा रहनेको तुलनामा बढी हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?