प्राधिकरण टुक्र्याउन लागिएको भन्दै कर्मचारीहरु आन्दोलित

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्र्याउनने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् ।

प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको तथा यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सोमबारदेखि सुुरु गरिएको आन्दालनको कार्यक्रम बिहीबारसम्मका लागि सार्वजनिक गरिएको छ ।

कर्मचारीहरुले बुधबारसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने र बिहिबारबाट महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्राधिकरण टुक्र्याउनका लागि विभिन्न हवाई माफियाहरु र स्वार्थ समूह अनुकुल योजनावद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुनैपनि हालतमा पास हुन नदिने गरी आन्दोलनका कार्यक्रम अगाडि बढाइएको लोकतान्त्रिक कर्मचारी संघका सदस्य सुजन भण्डारीले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद खनालले युरोपियन युनियनले नेपाल लगायतका एसियन मुलुकमा व्यापार गर्ने उदेश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था निजीकरण गर्ने पाटोमा लगिएको बताए। प्राधिकरणको रक्षाका लागि आन्दोलन गर्न लागिएको उनले बताए ।

हवाई यातायात नियन्त्रक संघका अध्यक्ष श्यामकिशोर साहले प्रतिगामी विधेयकको संज्ञा दिँदै राष्ट्रहितविपरीतका विधेयक रोक्न सफल हुने विश्वास व्यक्त गरे ।

यता सरकारले आज (मंगलबार) प्रतिनिधि सभामा प्राधिकरण टुक्रयाउने गरी २ विधेयक दर्ता गरेको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रतिनिधि सभामा टेबल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?