फाब्रिजियो रोमानोले भने- ‘मेस्सी टू पीएसजी, हियर वी गो!’

काठमाडौं। फुटबल क्षेत्रको सरुवा बजारसँग सम्बन्धित कारोबारमा सबैभन्दा पहिले तथा तथ्य समाचार प्रदान गर्ने स्रोत, फाब्रिजियो रोमानोले लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएको जानकारी दिएका छन्।

मंगलवार अपरान्ह रोमानोले आफ्नो सामाजिक संजालको माध्यमबाट पीएसजी र लियोनल मेस्सीबीच दुई वर्षे सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका छन्। पछिल्लो समय फुटबलको सरुवा बजारमा हुने कारोबारबारे रोमानोले दिएको जानकारीलाई निकै विश्वास गरिँदै आएको छ।

रोमानोका अनुसार मेस्सीले पीएसजीमा प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको तलब प्राप्त गर्नेछन्। त्यसमाथि मेस्सीको व्यक्तिगत प्रदर्शनी अनुसार उनले थप रकम कमाउने जानकारी पनि रोमानोले दिएका छन्।

रोमानोले गरेका ट्वीट अनुसार मेस्सी अबको केही घण्टामा पेरिस पुगेर सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिइएको छ। उनले क्लब र मेस्सीबीच हालको लागि दुई वर्षे सम्झौतामा सहमति भए पनि सम्झौतालाई सन् २०२४ सम्म लम्बाउने विकल्प पनि रहेको जानकारी समेत दिएका छन्।

Image

फाब्रिजियो रोमानो इटालियन खेलकुद पत्रकार हुन्। उनले सामाजिक संजालमा खेलाडीहरु एकबाट अर्को क्लबमा सरुवा भएको पक्का समाचारलाई “हियर वी गो”, भनेर लेख्ने गर्दछन्। उनको “हियर वी गो”लाई संसार भरी रहेका फुटबल समर्थकले भरोसा गर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?